बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ, नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपपछि सुरु भएको अशान्ति दोस्रो दिनमा पनि कायम छ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई प्रहरीले अझै पनि पक्राउ नगरेको आरोप लगाउदैं जेनजी युवाहरू ठूलो संख्यामा सिमरा बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएका छन्। सडकमा टायर बालेर यातायात अवरुद्ध पारेपछि स्थिति थप जटिल बन्न पुगेको छ।
सडक खुलाउन प्रहरीले प्रयास गर्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पुनः झडपको स्थिती सिर्जन भएको हो। ढुंगामुढा प्रहार भएपछि प्रहरीले केहीबेरका लागि पछि हटेको परेको डीएसपी वेदप्रकाश जोशीले बताए। झडपमा दुवै पक्षका केही व्यक्तिहरू सामान्य घाइते भएका छन्।
डीएसपी जोशीका अनुसार, हिजोको प्रदर्शनको नेतृत्वकर्तासँग भएको सहमतिअनुसार कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ र अदालतबाट म्याद थप प्रक्रिया सुरु भएको छ। तर, प्रदर्शनकारीहरूले पक्राउ परेकालाई सिमरा चोकमै ल्याएर सार्वजनिक गर्नुपर्ने माग राख्दै नाराबाजी जारी राखेका छन्।