चुम्बन मानिसहरूले मात्र गर्दैनन्, बाँदर, ध्रुवीय भालु जस्ता धेरै जनावरले पनि गर्छन्। हालैको एक अनुसन्धानले जनावरहरूमा चुम्बन गर्ने चलन कहिलेदेखि सुरु भयो भन्नेबारे रोचक तथ्य पत्ता लगाएको छ।
अनुसन्धानअनुसार, जनावरहरूले करिब दुई करोड १० लाख वर्ष पहिलेदेखि नै मुख जोडेर चुम्बन गर्न थालेका थिए। यसको अर्थ, आधुनिक मानिस र ‘ग्रेट एप’ (चिम्पान्जी, गोरिल्ला आदि) का साझा पुर्खाले पनि चुम्बन गर्थे।
वैज्ञानिकहरूका लागि चुम्बन एउटा रहस्य बनेको थियो, किनभने यसले बाँच्न वा बच्चा जन्माउन सिधै सहयोग गर्दैन। तर पनि मानिसदेखि जनावरसम्म सबैले यो व्यवहार देखाउँछन्। त्यसैले, यसको सुरुवात कहिले भयो भनेर पत्ता लगाउन वैज्ञानिकहरूले अध्ययन गरेका हुन्।
अध्ययनलाई सजिलो बनाउन वैज्ञानिकहरूले चुम्बनको एउटा स्पष्ट परिभाषा बनाएका छन्। उनीहरूका अनुसार, चुम्बन भनेको एकअर्कालाई मुखमा मुख जोड्ने क्रियाकलाप हो, जसमा कुनै आक्रामक व्यवहार हुँदैन र खानेकुरा साटासाट गरिँदैन।
यो परिभाषाअनुसार ब्वाँसा, ध्रुवीय भालु र केही समुद्री चराहरूले पनि चुम्बन गर्छन्।

अक्सफर्ड विश्वविद्यालयकी जीववैज्ञानिक डा. मटिल्डा ब्रिन्डलको नेतृत्वमा भएको यो अनुसन्धानले मानिस, चिम्पान्जी र बोनोबो सबैले चुम्बन गर्ने भएकाले उनीहरूका साझा पुर्खाले पनि यसो गर्थे भन्ने निष्कर्ष निकालेको छ।
अनुसन्धानले हाम्रा नजिकका नातेदार मानिने नियान्डर्टाल आदिमानवहरू पनि चुम्बन गर्थे भन्ने देखाएको छ। उनीहरूले आधुनिक मानवका पुर्खाहरूसँग पनि चुम्बन साटासाट गरेको हुनसक्ने अनुमान छ।
यसअघि भएको अर्को अध्ययनमा नियान्डर्टालको मुखमा पाइने कीटाणु आजका मानिसको थुकमा पाइने कीटाणुसँग मिल्दोजुल्दो पाइएको थियो, जसले उनीहरूबीच थुक साटफेर भएको सङ्केत गर्छ।
यो अध्ययनले चुम्बन ‘कहिले’ सुरु भयो भनेर बताए पनि ‘किन’ सुरु भयो भन्ने प्रश्नको उत्तर दिएको छैन। यसबारे विभिन्न धारणाहरू छन्:
– कसैले यसलाई एकअर्काको स्वास्थ्य जाँच्ने तरिका मानेका छन्।
– कसैले सफा गर्ने (ग्रूमिङ) बानीबाट विकसित भएको हुनसक्ने बताएका छन्।
मुख्य अनुसन्धानकर्ता डा. ब्रिन्डल यो अध्ययनले भविष्यमा यस्ता प्रश्नको उत्तर खोज्न मद्दत गर्ने आशा गर्छिन्। उनका अनुसार, मानिस र अन्य जनावरमा पाइने यो साझा व्यवहारलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन, किनभने मानव समाजमा यसको विशेष प्रेमपूर्ण अर्थ छ।
–बीबीसीबाट ।