विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा अब एक तह बढुवासहित पेन्सन सुविधा प्रदान गरिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीमा चौथो संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार, विपद् उद्धारमा जिम्मेवारी पूरा गर्दै ज्यान गुमाउने सशस्त्र प्रहरीलाई मरणोत्तर एक तह बढुवा गरिनेछ । साथै, उनका परिवारले पारिवारिक निवृत्तिभरण प्राप्त गर्नेछन्।
यसअघि नियमावलीले मुठभेड, आक्रमण, बिस्फोट वा हतियारधारी समूहविरुद्धको कारबाहीका क्रममा मृत्यु भएमा मात्र यस्तो सुविधा दिने व्यवस्था गरेको थियो। अब भने विपद् जिम्मेवारीका क्रममा ज्यान गएको खण्डमा पनि त्यही सुविधा लागू हुने भएको छ।