जनकपुर । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् ।
कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कमला पुल निर्माण हुनु पर्नेमा जोड दिए ।
उनले शुक्रबार पुल निरीक्षण गरेर पुलको वास्तविक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी दिए । उनले सोही पुललाई तत्काल बनाएर अगाडि बढ्न सक्ने कि पुनः निर्माण नै गर्नुपर्नेमा सबै पक्ष हेरेर विचार गरिने बताए ।
उनले नयाँ पुल बनाउनु परेपनि बनाउने तर कुनै पनि हालतमा पुल सञ्चालनमा ल्याएर छाड्ने बताए । मन्त्री घिसिङसहितको टोली बिहीबार जनकपुरधाम आएका थिए ।
यस अघि उनले शुक्रबार बिहान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग जनकपुरधास्थित निर्माणधीन राम जानकी रंगशालाको निरीक्षण गरेका थिए ।
सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न हुनु अघि नै भास्सिएको थियो । पुल नभएका कारण दुबै जिल्लावासीलाई आवत जावत गर्न करीब ९० कि.मि घुमेर जानुपर्ने बाध्यता रहेको छ ।
तराई/मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।
तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौं पठक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ ।