• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा फेरि पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेलेपनि जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७ रनको योगदान दिए ।

ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रनमा आउट भए । आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ब्राउनले विनोद भण्डारीसंग पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए ।

विनोद ४३ रनमा आउट भए । क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रनमा आउट भए ।

बलिङमा पोखराका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए । ड्यान डाउथवैट र आकाश चन्दले दुई-दुई विकेट लिए ।

सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो ।

पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।