• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

के पोखरा साँच्चै स्वर्ग हो ? आउनुहोस्, भ्रमको पर्दा उघारौँ

गत वर्ष फेब्रुअरी १२ काे जाडोयाममा पोखरा देशकै सर्वाधिक प्रदूषित शहर बनेको समाचार आयो। त्यसबेला गण्डकी बोर्डिङ्ग स्कुल क्षेत्रको प्रदूषण १८७ एक्युआई थियो। जुन अत्यन्त प्रदूषित वायु मानिन्छ।

काठमाडौँ बसिरहँदा केही नचिनेका साथीहरूबाट घर कता हो भन्ने प्रश्न आउँदा जवाफमा मैले पोखरा भन्दिएँ भने उनीहरूलाई ओहो! यो त स्वर्गलोकबाट नै आएको रहेछ भन्ठान्छन् । “Pokhara” शब्द नै कस्तो फेन्सी सुनिन्छ यार भन्ने गर्थे कुनै एक मित्रले मलाई । साँच्चै…कवि, गजलकार र सबै जसो लेखकले आफ्नो रचनामा पोखरालाई त एउटा स्वर्गको टुक्रा नै बनाएका छन् हगि! सुन्दर नगरी भनेरै पोखरालाई कुनै चित्रकारले आफ्नो क्यानभासमा उतारेको आँफैले देखेको छु। दोष ती लेखकको हैन, गल्ती ती चित्रकारको पनि हैन। जस्तो सुनिँदो छ, त्यति नै सुन्दर पोखरा छ कि छैन भनेर थाहा पाउन त तपाईं आँफै एकपटक अवलोकनका लागि पोखरा आउनैपर्छ। उसो भए आउनुहोस्, एकछिन मसँगै पोखरा घुमौँ है त आज।

हिउँ बिनाको निर्वस्त्र माछापुछ्रे देख्ने बित्तिकै पोखरावासीकाे वातावरण प्रतिको सोच छर्लङ्गै नाङ्गिएको महशुस गर्नु भयो भने मलाई गाली नगर्नुहोला। हिमालको टेकोनजिक उभिएका स–साना पहाडका थुम्काहरु सुक्दै गरेको हेर्नुपर्दा तपाईंका पनि आँखा रसाउन सक्छन्। चिसोपना घट्दै गएपछि लेकमा गोठालालाई च्याङ्ग्रा/भेडा पाल्न सकस भइरहँदा तल बेँसीको पोखरा बजारमा बेखबर मानिसहरू पङ्खा र हीटरमा भुलेकाे देख्दा म पनि उहिल्यैदेखि थकथकाएको छु। चौतारो र ढुङ्गेधारा मासेर प्रकृतिवाद र संस्कृतिवादका नाराहरु हेम्जा र नालाकोमुखका घुम्तीहरुमा वर्षौं देखि गुन्जिरहेको छ। पोखरामा जम्मा ९ वटा तालहरू छन् भन्ने कुरा अधिकांश पोखरेलीलाई नै अवगत छैन। तालकाे वास्तविक क्षेत्रकाे बारेमा त झन् कुरै नगरौँ भो। जिन्दगीभर आफू चोक्खिन भौतारिरहेकाहरुले छेउमै बगिरहेको सेती नदी दिनप्रतिदिन मैलिएको कैहिल्यै देखेनन्। हामी सबै कुरामा बेखबर जस्तै छौँ।

शान्ति स्तूपको फेदमा बसेका लेकसाईडका भव्य होटलहरु आजकाल शान्त छन् । अशान्त र रुष्ट छ त केवल ती होटलका व्यवसायीहरुकाे मन। चिप्लेढुङ्गा र महेन्द्रपुलकाे हुलमा युवाहरुको फ्रष्ट्रेशन फ्रिज भएको पनि धेरै दिन भइसक्यो। काहुँ र सराङ्गकोटका डाँडा हेर्दा तपाईँलाई पोखरामा भारतको शिमला भन्ने शहर कसरी आइपुग्यो भन्ने लाग्यो होला। शिमला पहाडमा स्थापित संसारकै अदीगो र अव्यवस्थित शहर मध्यकाे एक हो। याे सबै अनुसरण गर्दै गर्दा अब त सुन्दर पोखरा खोज्न छोड्नुभयो होला कि भन्ने लाग्छ। हरेक पर्यटकले पोखरालाई आफ्नो भ्रमणको एउटा ट्रान्जिट पोइन्ट मात्र बनाएको गुनासो त यहाँ जो कोहीबाट पनि सुन्न सकिन्छ। अलि-अलि जीवित रहेको वास्तविक पोखरा पनि अब भीमसेन टोल र मोहोरिया टोलमै मर्दैछ। कवि शिरोमणि लेखनाथ पौड्याल, वरिष्ठ लोकगायक झलकमान गन्धर्ब, लोकजीवनका अभियन्ता अलि मियाँ जस्ता व्यक्तित्वहरु जन्माएको पोखराले आज आफ्नो अस्तित्व संकटमा परेको महसुस गर्दै छ।

पोखरा भनेको फगत फेवा ताल, महेन्द्र गुफा र विन्ध्यवासिनी मात्र हैन। यहाँ अरु पनि धेरै चीज नचिनिएका छन्। हो ,पोखरा एउटा सुन्दर आँखा थियो कुनैबेला। त्यो आँखालाई श्रृंगार्न यहाँको प्रकृति र संस्कृति बलवान् थियो तर आज त्यो आँखामा कृत्रिम बादल मडारिँदै गएको छ। मडारिँदै गरेको आँखालाई पारदर्शी बनाउन तपाईं हामी जुट्ने बेला भएन र? ए, अँ ! तपाईंलाई मैले पोखरा घुमाउँदा घुमाउँदै बीचमा छोडेछु है ? मलाई अब माफ गर्दै बाँकी पोखरा स्वयम् आँफै आएर एकपटक जरूर घुम्नु है त ।

– लेखक वातावरण विज्ञानका विद्यार्थी हुन् ।