• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

एजेन्सी । दुबई एयर शोमा प्रदर्शनको क्रममा शुक्रबार एक भारतीय विमान दुर्घटनाग्रस्त बनेको छ। जसमा पाइलटको मृत्यु भएको छ। भारतीय एचएएल तेजस लडाकु विमान स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडान गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो।

भारतीय वायुसेनाले एक विज्ञप्ति जारी गर्दै घटना पुष्टि गरेको छ। ‘जीवनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दछ र शोकको यस समयमा शोकसन्तप्त परिवारसँग दृढतापूर्वक उभिएका छौं, विज्ञप्तिमा भनिएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अदालत अफ इन्क्वायरी गठन गरिएको छ, विज्ञप्तिमा थपिएको छ।

दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडिओमा तेजस विमान उडेको केही समयपछि जमिनमा खसेको र आगोको ज्वाला र धुवाँको मुस्लोसहित विस्फोट भएको देखिन्छ। जसमा थिए, पाइलट नमन स्याल। घटनास्थलमै उनको मृत्यु भयो। उनी हिमाचल प्रदेशको कांगडा जिल्लाका बासिन्दा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले ट्विटरमा विङ कमान्डर नमनको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘दुबई एयर सोमा तेजस विमान दुर्घटनामा हिमाचल प्रदेशको कांगडा जिल्लाका एक बहादुर छोरा नमन स्यालको मृत्युको खबर अत्यन्तै दुखद् र हृदयविदारक छ। देशले एक बहादुर, समर्पित र साहसी पाइलट गुमाएको छ। म शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। बहादुर छोरालाई सलाम, राष्ट्रको सेवाप्रतिको अदम्य बहादुरी, समर्पण र समर्पणलाई हृदयदेखि नमन।’