काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ मतदाता दर्ता उल्लेख्य रूपमा बढेको छ । निर्वाचन आयोगले दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय मंसिर ५ गते मध्यराति सकिएपछि आयोगले नयाँ विवरण सार्वजनिक गरेको हो ।
आयोगका अनुसार यस अवधिमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । दर्ता प्रक्रिया दुवै माध्यमबाट भएको छ । बायोमेट्रिक्समार्फत ३ लाख ४४ हजार ९१४ जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत ४ लाख ९२ हजार १८० जना मतदाताको नाम दर्ता भएको छ । दुवै विधिमा चाप बढेपछि आयोगले समय कात्तिक ३० बाट मंसिर ५ गतेसम्म बढाएको थियो ।
राष्ट्रिय परिचयपत्रका विवरण प्रयोग गरेर अनलाइनबाट दर्ता गर्ने सुविधा खुल्दै गएपछि दर्ता गर्नेको संख्या तीव्र बढेको आयोगले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि सामाजिक सञ्जालमार्फत दर्ता अभियान सकिएको उल्लेख गरेकी छन् । उनले नयाँ मतदाता समेटिएको जानकारी सार्वजनिक गर्दै मतदाताको अद्यावधिक महत्वपूर्ण चरणमा पुगेको बताएकी छन् । गत कात्तिक १६ सम्म १८ वर्ष पुगेका व्यक्तिको संख्या १ करोड ८१ लाख ६८ हजार २३ रहेको आयोगको तथ्यांकमा छ ।
यसैबीच, निर्वाचन आयोगले दर्ता गर्ने दलहरूको सङ्ख्यामा पनि वृद्धि भएको जनाएको छ । केवल यही अवधिमा १० नयाँ दल आयोगमा दर्ता भएका छन् । श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी दर्ता भएका हुन् ।
आयोगले थप २८ दल दर्ताका लागि प्रस्ताव प्राप्त भएको समेत उल्लेख गरेको छ। ती दल अहिले समीक्षा तथा प्रक्रिया चरणमा छन् ।
मतदाता दर्ता, दल दर्ता र निर्वाचन तयारीले निर्वाचनको माहोल अझै तिव्र बन्दै गएको आयोगको भनाइ छ ।