“साङ्लो, क क क.. कहाँ छ साङ्लो?”
सन् १९८७ मा रिलिज भएको बलिउड फिल्म ‘मिस्टर इन्डिया’ को त्यो चर्चित दृश्य सायद धेरैलाई याद होला। जहाँ अनिल कपुर एउटा सानो साङ्लो (कक्रोज) देख्दा डराउँछन्। रमाइलो कुरा के छ भने, फिल्मको पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि यो सानो जीवले धेरैको सातो लिने गर्छ।
हाम्रो भान्सामा यताउति कुद्ने, अँध्यारोमा सुटुक्क निस्कने र जति भगाए पनि पुनः फर्किएर आउने यो जिद्दी किरा आखिर के चिज हो? यसलाई प्रकृतिबाट त्यस्तो कुन ‘शक्ति’ मिलेको छ, जसले गर्दा यो करोडौँ वर्षदेखि पृथ्वीमा टिकिरहेको छ?
आउनुहोस्, साङ्लोको संसारका ५ रोचक तथ्यहरू जानौँ, जसले तपाईंलाई अचम्ममा पार्नेछ।
१. डायनोसरभन्दा पनि ‘जेठो’
हो, तपाईंले सही पढ्नुभयो। पृथ्वीमा विशालकाय डायनोसरहरूको राज हुनुभन्दा धेरै अगाडिदेखि साङ्लाहरू अस्तित्वमा थिए। जीवाश्म (Fossils) अध्ययनहरूले देखाए अनुसार साङ्लाहरू करिब ३५ करोड वर्ष पुरानो ‘कार्बोनिफेरस’ युगदेखि पृथ्वीमा छन्।
दिल्ली विश्वविद्यालयका प्राणीशास्त्रका सहायक प्राध्यापक डा. नवाज आलम खान भन्छन्, “डायनासोरहरू जुरासिक युगमा आए र लोप भएर गए। मौसम बदलियो, पृथ्वीको वातावरण बदलियो तर साङ्लाहरू भने जस्ताको त्यस्तै टिकिरहे।” अर्थात्, प्रकृतिका ठूला-ठूला प्रलयहरूमा डाइनोसरजस्ता भीमकाय जनावर सकिए, तर यो सानो किरालाई केही भएन।
२. टाउको काटिए पनि एक हप्तासम्म बाँच्ने शक्ति
यो साङ्लोको सबैभन्दा चकित पार्ने पक्ष हो। यदि मानिसको टाउको काटियो भने केही सेकेन्डमै मृत्यु हुन्छ। तर, साङ्लो टाउको काटिए पनि करिब एक हप्तासम्म जीवितै रहन सक्छ। आखिर कसरी?
यसको वैज्ञानिक कारण निकै रोचक छ। मानिसको शरीरलाई दिमागले नियन्त्रण गर्छ। तर साङ्लोको शरीरमा ‘ग्याङ्लियोन’ (नाडीहरूको गुच्छा) हुन्छ, जुन टाउकोमा मात्र नभएर शरीरको छाती र पेटको भागमा पनि फैलिएको हुन्छ।
यसले सास फेर्न नाक वा मुखको प्रयोग गर्दैन। यसको शरीरमा मसिना प्वालहरू (Spiracles) हुन्छन्, जसबाट यसले श्वासप्रश्वास गर्छ। डा. खानका अनुसार, टाउको काटिएपछि यसको मृत्यु सास फेर्न नपाएर होइन, बरु पानी पिउन नपाएर (डिहाइड्रेसन) हुन्छ। किनकि मुख नभएपछि यसले पानी पिउन सक्दैन र अन्ततः तिर्खाले मर्छ।
३. राति मात्र किन निस्कन्छन्?
तपाईंले याद गर्नुभएको होला, दिउँसो भान्सामा नदेखिने साङ्लाहरू राति बत्ती निभाएपछि फौजका फौज निस्कन्छन्।
यिनीहरू ‘निशाचर’ (Nocturnal) जीव हुन्। यिनीहरूलाई उज्यालो मन पर्दैन। दिउँसो यिनीहरू ओसिलो र अँध्यारो कुनामा लुकेर बस्छन् भने राति खाना र पानीको खोजीमा निस्कन्छन्। हाम्रा भान्सा र बाथरुममा यिनीहरूलाई मन पर्ने चिस्यान र खाना दुवै पाइने हुनाले यिनीहरू त्यहीँ डेरा जमाउँछन्।
४. परमाणु बमले पनि मार्न सक्दैन?
एउटा चर्चित भनाइ छ- “यदि तेस्रो विश्वयुद्ध भएर परमाणु बम खस्यो भने मानिस सखाप हुन्छन्, तर साङ्लाहरू बाँच्नेछन्।” के यो साँचो हो?
यसमा आंशिक सत्यता मात्र छ। विज्ञहरूका अनुसार परमाणु बम विष्फोट हुँदा निस्कने अत्यधिक ताप (Heat) ले साङ्लाहरू पनि डढेर मर्छन्। तर, यदि कुरा विकिरण (Radiation) को हो भने, मानिसको तुलनामा साङ्लोले १५ गुणा बढी रेडिएसन सहन सक्छ। यसको शारीरिक बनावट र सेल्युलर संरचनाले यसलाई रेडिएसनबाट बच्न मद्दत गर्छ।
५. जति विषादी छर्किए पनि किन सकिँदैनन्?
बजारमा पाइने विभिन्न ‘कक्रोज किलर’ स्प्रे वा चक प्रयोग गर्दा पनि केही समयपछि यी पुनः देखिन थाल्छन्। यसको कारण हो- यिनीहरूको अद्भूत अनुकूलन क्षमता (Adaptability)।
साङ्लाहरूले समयसँगै आफूलाई विषादीसँग लड्न सक्ने गरी बलियो बनाउँदै लैजान्छन्। साथै, यिनीहरूको प्रजनन् क्षमता पनि तीव्र हुन्छ। एउटा पोथी साङ्लोको जीवनकाल करिब ६ महिनाको हुन्छ, तर यो छोटो समयमा यसले सयौँ सन्तान उत्पादन गर्न सक्छ।
–बीबीसी हिन्दीबाट ।