काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेल एक रनले अर्धशतक बनाउन चुके। उनी १७औं ओभरको चौथो बलमा सोपालको बलमा नाजिबुल्लाह जाद्रानबाट ४९ रनमा क्याच भए।
रोहितले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
रुवेन ट्रम्पलमनले आक्रमक फिनिसिङ गरे । उनी १४ बलमा २९ रन बनाएर अविजित रहे ।
अन्य ब्याटर डार्सी सर्ट १९, सन्दीप जोरा १, दिलिप नाथ ६, गुल्बदिन नइव ७, सुमित महर्जन ४ र समीर अलि १ रनमा आउट भए । शेर मल्ल ७ रनमा अविजित रहे ।
बलिङमा कर्णालीका नन्दन यादवले २, गुल्सन झा, मार्क वाट, विपिन खत्री र युवराज खत्रीले एक–एक विकेट लिए ।