• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लुम्बिनीमाथि कर्णालीको शानदार जित, मार्क वाटको शतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा मार्क वाटको उत्कृष्ट शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित निकालेको छ।

वाटले अविजित ११४ रन जोडेपछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो।

उत्कृष्ट लयमा देखिएका वाटले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गरे।

प्रियांकन पञ्चाल १२ रनमा आउट हुँदा विल्लियम वोसिष्टो २९ रनमा अविजित रहे । लुम्बिनीको बलिङमा शेर मल्लले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बलमा २ छक्का र ४ चौका प्रहार गरे । रुवेन ट्रम्पलमनले आक्रमक फिनिसिङ गरे । उनी १४ बलमा २९ रन बनाएर अविजित रहे ।

डार्सी सर्ट १९, सन्दीप जोरा १, दिलिप नाथ ६, गुल्बदिन नइव ७, सुमित महर्जन ४ र समीर अलि १ रनमा आउट भए । शेर मल्ल ७ रनमा अविजित रहे ।

बलिङमा कर्णलीका नन्दन यादवले २, गुल्सन झा, मार्क वाट, विपिन खत्री र युवराज खत्रीले एक–एक विकेट लिए ।

एनपीएलकै दोस्रो शतक, दोस्रो संस्करणको पहिलो

मार्क वाटले प्रहार गरेको शतक एनपिएल इतिहासकै दोस्रो र दोस्रो संस्करणको पहिलो शतक हो । अघिल्लो सिजन पोखराका लागि आन्द्रेस गौसले लुम्बिनी लायन्सविरूद्ध नै १०४ रन प्रहार गरेका थिए ।