काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको उक्त कदमलाई ‘तमासा’ को संज्ञा दिए। बारामा शुक्रबार भएको घटनालगत्तै एसपी तामाङलाई हेडक्वार्टर तानिएपछि ओलीले सरकारको नियतमाथि प्रश्न उठाएका हुन्।
सम्बोधनका क्रममा ओलीले प्रश्न गरे, ‘के अब प्रहरी पनि जेनजी बनेर आइदिनुपर्ने ? प्रहरीले जेनजीलाई सघाएन भनेर एसपीलाई तानियो, यो तमासा होइन ?’
उनले बारामा एयरपोर्ट बन्द गराउने नाटक गर्न कुनै ‘जेनजी’ नभई अराजक तत्वहरू आएको जिकिर गरे। ‘ती अराजक तत्वलाई सरकारले रोक्नुपर्ने ठाउँमा उल्टै भिडन्त गर्न एसपी आएन भनेर कारबाही गरियो,’ ओलीले भने।
बारामा एमालेले आयोजना गरेको युवा भेलामा माओवादी केन्द्र, रास्वपा र राप्रपालगायतका दलका ‘हिन्दुवादी भनिएका अवान्छित व्यक्ति’ ले हमला गरेको ओलीको आरोप छ।
अर्काको कार्यक्रम बिथोल्ने र फिका बनाउने उद्देश्यले आक्रमण गरिएको भन्दै उनले सरकारलाई सचेत गराए।
ओलीले चेतावनी दिँदै भने, ‘नेकपा एमालेलाई उत्तेजित बनाउने र जिस्काउने काम नगर्नुस्। लोकतन्त्रमाथि योभन्दा बढी आक्रमण गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस्। जे गर्नुभयो, गर्नुभयो। अब यसरी नै अघि बढ्न सक्छौं भन्ने ठान्नुभयो भने त्यो तपाईंहरूका लागि पनि हितकर हुने छैन।’