• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कांग्रेस निर्वाचनमा जाने, गगन थापा भन्छन्– विशेष महाधिवेशन निर्विकल्प बाटो

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

शनिबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो।

महामन्त्री गगन थापाका अनुसार दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। तर कांग्रेसले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले नै टुङ्गो लगाउने पनि जनाएको छ ।

कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुनः कारागारमा फर्काउन सरकारलाई अनुरोध समेत गरेको छ ।

त्यस्तै, महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर अघि बढ्ने पनि बताए । उनले महाधिवेशनको कुरा विधानमै उल्लेख भएकाले सोही अनुसार अघि बढ्ने पनि सुनाए ।

केन्द्रीय समिति बैठकले आम निर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे पछि निर्णय गर्ने भन्दै केन्द्रीय समिति बैठक मंसिर ११ गतेसम्मका लागि सारेपछि महामन्त्री थापाले अब विशेष महाधिवेशन निर्विकल्प बाटो रहेको प्रतिक्रिया दिएका हुन्।

‘कांग्रेसको महाधिवेशन निर्वाचनभन्दा अगाडि अनिवार्य रूपमा गर्नैपर्छ, यसका लागि दुईवटा बाटो छ। एउटा नियमित महाधिवेशन अर्को विशेष महाधिवेशन। हाम्रो कार्यकाल मंसिरभित्रै सकिन्छ, यो समितिको म्याद थप्न हुँदैन, यही अवधिभित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्छ भनेर लामो समयदेखि मैले भन्दै आएको छु, पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न मैले प्रस्ताव गरेको छु, पार्टीका कतिपय नेताहरूले गर्न सकिँदैन यो समयमा भनेर भन्नुभएको छ। त्यसो हो भने मंसिरभित्रै विशेष महाधिवेशन निर्विकल्प हो’, केन्द्रीय समिति बैठकपछि महामन्त्री थापाले भने।

महामन्त्री थापाले मंसिरको २७ र २८ गते विशेष महाधिवेशन गर्न सकिने पनि बताए ।