काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ५ विकेटले पराजित गर्यो।
काठमान्डुले दिएको १३५ रनको सामान्य लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
यसअघि विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनको पराजय भोगेको थियो।
विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । लोकेश बलमे १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ र नरेन भट्टले २४ रनको योगदान दिए । शुभम रञ्जाने ६ र कप्तान सन्दीप लामिछाने ९ रनमा अविजित रहे ।
बलिङमा काठमाण्डुका शाहव आलमले २, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एकएक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । काठमाण्डुका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए ।
उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित रहे । वेन चाल्र्सवर्थले ३२, रिकार्डो वेस्कोन्सेलोसले ३, प्रतिक श्रेष्ठले २, गेह्राड एरामसले १०, सन्तोष यादवले २६ रन बनाएर आउट भए । जोन सिम्पसन ७ रनमा अविजित रहे ।
बलिङमा विराटनगरका मार्चेन्ट डि लिङगेले २, शुभम रञ्जाने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।