• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शेख हसिनालाई मृत्युदण्डको फैसला: भारतका लागि कूटनीतिक चुनौती

बंगलादेशमा विकसित घटनाक्रमका कारण दुई देशबीच कूटनीतिक असामञ्जस्य उत्पन्न भएको छ। ढाका शेख हसिनालाई भारतले सुपुर्दगी गरिदेओस् भन्ने चाहन्छ तर दिल्ली त्यसो गर्न तयार छैन। यो परिस्थितिमा बंगलादेशकी भूतपूर्व नेतृलाई दिइएको मृत्युदण्डको फैसला कार्यान्वयन हुन सक्दैन।

काठमाडौं । कुनै समय भारतको रणनीतिक स्वार्थका लागि बलियो सारथि बनेकी शेख हसिना, यतिबेला नयाँ दिल्लीका लागि पेचिलो कूटनीतिक सकस बनेकी छन्।

पन्ध्र वर्ष सत्तामा हुँदा उनले दिल्लीलाई उसले आफ्नो छिमेकमा चाहे जस्तै उपहार दिइन् – स्थिरता, ‘कनेक्टिभिटी’ र चीनसँग नभई भारतसँग उसको हितका लागि हातेमालो गर्ने तत्परता।

अहिले उनी भारतमा छिन्। बंगलादेशको एउटा विशेष अदालतले गत वर्ष आन्दोलन दमन गर्दा उनले मानवताविरुद्ध अपराध गरेको ठहर गर्दै उनलाई मृत्युदण्डको फैसला सुनाएको छ।

गत वर्ष (२०२४) बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा सयौं मानिसको मृत्यु भएको घटनामा उनलाई दोषी ठहर गरिएको हो।

आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ताच्युत भइन् र भारत पलायन भइन्। त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्यो। बंगलादेशमा आगामी वर्षका लागि निर्वाचनको मिति तोकिएको छ।

बंगलादेशमा विकसित घटनाक्रमका कारण दुई देशबीच कूटनीतिक असामञ्जस्य उत्पन्न भएको छ। ढाका शेख हसिनालाई भारतले सुपुर्दगी गरिदेओस् भन्ने चाहन्छ तर दिल्ली त्यसो गर्न तयार छैन। यो परिस्थितिमा बंगलादेशकी भूतपूर्व नेतृलाई दिइएको मृत्युदण्डको फैसला कार्यान्वयन हुन सक्दैन।

बंगलादेशका लागि पूर्व भारतीय उच्चायुक्त रिभा गांगुली दासका अनुसार हसिनाविरुद्धको अदालती प्रक्रिया हतारमा गरिएको थियो। बचाउ पक्षका वकिललाई बोल्ने मौका नदिइएको र फैसला अस्वाभाविक रूपमा छिटो आएको भन्दै यसको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले आगामी फेब्रुअरीमा आम निर्वाचन गराउने घोषणा गरेको छ। भारतका पूर्व विशेष प्रतिनिधि एस.डी. मुनिका अनुसार हसिनाको पार्टी ‘अवामी लिग’ का समर्थकहरू अहिले दमनमा परेका छन्। तर, स्वतन्त्र र निष्पक्ष चुनावका लागि अवामी लिगलाई पनि प्रतिस्पर्धा गर्न दिनुपर्ने उनको भनाइ छ।

भारतले शेख हसिनालाई कानुनी रूपमा शरण दिन सक्छ। विश्लेषकहरूका अनुसार यदि भारतले हसिनालाई फिर्ता पठायो भने, दक्षिण एसियाका अन्य मित्र राष्ट्रहरू (जस्तै माल्दिभ्स, नेपाल) मा भारतले आफ्ना मित्रलाई अप्ठ्यारो पर्दा साथ दिँदैन भन्ने गलत सन्देश जान सक्छ।

हसिना सरकार ढलेपछि पनि भारत र बंगलादेशबीचको व्यापार रोकिएको छैन। अगस्ट २०२४ देखि २०२५ सम्म व्यापार बढेको तथ्यांक छ। बंगलादेशले भारतबाट बिजुली र इन्धन खरिद जारी राखेको छ।

हसिना सरकारको पतनपछि बंगलादेशमा पाकिस्तान र चीनको प्रभाव बढ्ने चिन्ता भारतलाई छ। विशेषगरी पाकिस्तानले रक्षा र जासुसी संयन्त्रमार्फत बंगलादेशसँग सम्बन्ध बढाउन खोजिरहेको छ। यद्यपि, मोहम्मद युनुसले भारतमाथिको निर्भरता घटाउन खोजे पनि भौगोलिक र आर्थिक कारणले भारतसँगको सम्बन्ध तोड्न सजिलो छैन।

भारतले बंगलादेशमा जुनसुकै सरकार आए पनि आफ्नो कूटनीतिक सम्बन्ध र संवाद जारी राख्नुपर्ने विज्ञहरूको सुझाव छ।

याे पनि पढ्नुहोस् ।

शेख हसिना मृत्युदण्ड: बंगलादेशले भारतसँग सुपुर्दगी गर्न भन्यो, मोदी सरकारको यस्तो जवाफ