काठमाडौं । जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई भेटेर पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गलत व्यवहार गरेको गुनासो गरेका छन् ।
आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्ने माग गरिएको बताए ।
उनले भने, ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते नआई २४ गते आउँदैन । २३ गते जुन घटना घट्यो त्यसका त्यो घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्छ । अर्को कुरा २४ गते जुन उदण्ड मच्चियो त्यसमा २३ गते घटेको घटनाको ठूलो हात थियो त्यसकारण २३ गते घटना घटाउनेहरुलाई पक्राउ गर्नुहोस् र २४ गतेलाई नछोड्नुहोस् ।’
प्रवक्ता लिम्बुले युवाहरु सरकारको पर्खाल रहेको बताउँदै सरकारलाई चाहिने सहयोग गर्ने बताए । ‘हामी सरकारको पर्खाल हौँ । सरकारलाई चाहिने सबै कुराको सहयोग गर्न हामी तयार छौं,’ उनले भने ।
यस्तै, जेनजी २.० संगठनका केन्द्रिय सचिव कुन्दन कुशवाहाका अनुसार हालको सरकारले जेनजी आन्दोलनको माग अनुसार काम नगरेको र जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताए ।
उनले भने, ‘जेनजीहरुको सरकार, नागरिकहरुको सरकार, जेनजीको रगतले बनेको सरकारले खासमा सहिद र घाइते परिवारको म्यान्डेट अनुसार, आन्दोलनको म्यान्डेट अनुसार काम गर्नुपर्ने तर अहिले गृहमन्त्री ज्यूले जुन प्रकारले काम गरिरहनु भएको छ यो सरासर गलत हो ।’ उनले पुराना राजनीतिक दलहरुको टार्गेटमा युवाहरु रहेको भन्दै युवालाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको बताए ।
‘पुराना राजनीतिक दलहरुले हामीलाई टार्गेटमा राखेको छ । हामीलाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको छ । हामी शान्ति, सुरक्षा चाहान्छाैँ । अहिलेको नागरिक सरकारलाई सघाउन पनि चाहान्छौँ,’ उनले भने ।