काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् ।
आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् ।
उनले भने,‘कांग्रेस, एमाले, माओवादी आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिर्वतनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे । फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो ।’
त्यस्तै, उनले दलहरुले भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाएको आरोप लगाए ।
संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाइ छ ।
‘भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहिनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन सकेन,’ उनले भने ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दावी गरे ।