• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्तो छ प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिवद्धता (पूर्णपाठसहित)

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आइतबार औपचारिक रूपमा आफ्नो संक्षिप्त राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा सभाका क्रममा नेता जनार्दन शर्माले पार्टीको भावी कार्यदिशा र सिद्धान्त समेटिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

‘नेपाली माटो हाम्रो बाटो’ भन्ने मूल नारा तय गरेको यस पार्टीले आफ्नो दस्तावेजको सुरुवात नै आत्मालोचनाबाट गरेको छ । विगतको राजनीतिक जीवन र घटनाक्रमलाई संकेत गर्दै प्रतिबद्धता पत्रमा भनिएको छ, ‘विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा कमजोरी नगर्ने स्वघोषणा गर्दछौँ ।’

पार्टीको वैचारिक लाइन र चरित्रबारे प्रस्ट पार्दै प्रतिबद्धता पत्रमा समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित ‘मौलिकतासहितको नेपाली समाजवाद’ लाई पार्टीको मूल चरित्र मानिने उल्लेख छ । समाज विकासको नवीनतम सिद्धान्त अनुरूपको नेपाली समाजवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त रहने नेता शर्माले जानकारी दिए ।