• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारतमा केन्द्रीय बैंकका अधिकारी बनेर फिल्मी शैलीमा लुटियो ७ करोड !

भारतमा केन्द्रीय बैंकका अधिकारीका रूपमा प्रस्तुत भएका हतियारधारी व्यक्तिहरूले एटीएम क्यास भ्यानबाट ७ करोड भारतीय रुपैयाँ (करिब आठ लाख अमेरिकी डलर) लुटेको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शनिबार दक्षिणी सहर बैङ्गलुरुको प्रहरीले गत साता चोरी भएको ५ करोड ७६ ​​लाख रुपैयाँ बरामद गरेको र घटनाको अनुसन्धान भइरहेको जनाएको हो। अन्य नगद र लुटपाटमा संलग्नकाे खोजी भइरहेको बैङ्गलुरुका प्रहरी आयुक्त सीमान्त कुमार सिंहले पत्रकार सम्मेलनमार्फत शनिबार जानकारी दिएका हुन् ।

पक्राउ पर्नेहरूमा नगद ओसारपसार गर्ने कम्पनी सीएमएसका कर्मचारी गोपाल प्रसाद, सीएमएसका पूर्वकर्मचारी जे जेभियर र स्थानीय प्रहरी हवल्दार अन्नप्पा नाइक छन्।

बैङ्गलुरुको लालबाग क्षेत्रमा बुधबार दिउँसो १२ बजेर ४८ मिनेट जाँदा उक्त डकैती भएको थियो। लुटेराहरूले आफूलाई भारतीय रिजर्भ बैंकका अधिकारी भएको नाटक गरेका थिए। त्यति ठूलो रकमको कागजात जाँच गर्नुपर्ने भन्दै उनीहरूले पैसा बोकेको गाडी रोकेका थिए।

गाडीमा रहेका नगद संरक्षकको जिम्मेवारीमा रहेका व्यक्ति र दुई सुरक्षा गार्डलाई एसयुभीमा चढ्न निर्देशन दिइएको थियो भने उक्त गिरोहका एकजनाले भ्यान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गिरोहले नगदका बाकस स्थानान्तरण गर्न सवारी साधन परिवर्तन गरेको, नक्कली दर्ता प्लेटहरू प्रयोग गरेको र कम सीसीटिभी कभरेज भएका स्थानहरू छनौट गरेको प्रहरीले जनाएको छ।

बैंकका शाखाहरूबीच पैसा सार्दै गर्दा व्यस्त सडकमा एसयूभीमा आएका छ जना पुरुषहरूले नगद ढुवानी गर्ने भ्यान रोकेको थियो। पैसा बोकेको भ्यानमा चालक, नगद संरक्षक र दुई हतियारधारी सुरक्षा गार्ड सवार थिए। उक्त गिरोहले नगद संरक्षकको जिम्मेवारीमा रहेका व्यक्ति र गार्डलाई आफ्नो हतियार भ्यानमा छोडेर एसयूभीमा चढ्न लगाई चालकलाई गाडी चलाउन निर्देशन दिएका थिए।

एसयूभीमार्फत् केही किलोमिटरसम्म पैसा बोकेको भ्यानलाई पछ्याएपछि चालकलाई भ्यानबाट निकालेर बन्दुक तेर्स्याउँदै नगद संरक्षक र गार्डहरूलाई एसयूभीबाट ओरालेर नगद आफ्नो गाडीमा सारेर लुटेराहरूको समूह त्यहाँबाट भागेको थियो।

गत मे महिनामा भारतकै विजयपुरा जिल्लास्थित एक बैंकबाट लकरको डुप्लिकेट साँचो प्रयोग गरेर ५३ करोड २६ लाख रुपैयाँ बराबरको ५९ किलो सुन चोरी भएको थियो। प्रहरीले त्यसयता ३९ किलो सुन र केही नगद बरामद गर्नुका साथै दुई पूर्व कर्मचारीसहित १५ जनालाई पक्राउ गरेको छ।

–बीबीसी हिन्दीबाट ।