विराटनगर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आइतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन् ।
कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थल पुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै दूर्व्यवहार गर्ने प्रयास गरेका थिए । त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध नाराबाजी गरेका थिए ।

त्यस्ता घटनाका बाबजुद सभास्थल पुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे । उनले विमानस्थलदेखि मार्गभर देखिएको आक्रमण प्रयास तथा विरोधप्रति आपत्ति जनाउँदै केही व्यक्तिहरू ‘जेनजी’ को नाममा राज्यको कानून हातमा लिन खोजिरहेको आरोप लगाए ।
‘कानून हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा कदापि स्वीकार्य हुँदैन । विराटनगरमा कांग्रेस शेखर–गगन समूहको केटोले गाडीमा हान्न खोजेछ,’ उनले भनेका छन् । उनले हालै गठन भएको ‘नेस्नल युथ भोलेन्टियर फोर्स’ लाई टोल–टोलमा विस्तार गर्दै जनताको काममा सक्रिय भूमिकासहित लाग्न युवाहरुलाई निर्देशन पनि दिएका छन् ।
