• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विराटनगरले जनकपुरलाई दियो १३६ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन जोड्न सक्यो। विराटनगरका लागि शुभन रन्जनेले सबैभन्दा बढी ३७ रन बनाए।

ओपनिङ ब्याटर जर्ज मुन्से १० रन बनाएर आउट भए। मार्टिन गप्टिल पनि चल्न सकेनन्। उनले १५ बलमा १ चौकाको मद्दतमा १३ रन मात्र जोड्न सके।

लोकेश बमले २६ बलमा २८ रन जोडे। बसिर अहदमले ३६ रन बनाए। उनले ३५ बलमा ३ छक्का प्रहार गरे। नारायण जोशी पनि २ रनमा आउट भए।

बलिङमा जनकपुरका रुपेश सिंह र संगित कोरीले २-२ विकेट लिए।

यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर पराजित भएको थियो। जनकपुरमाथि काठमान्डु गोर्खाजले जित निकालेको थियो।

विराटनगर भने लगातार दुई खेलमा विजयी भएको थियो। विराटनगरले पहिलो खेलमा पोखरा एजेन्जर्स र दोस्रो खेलमा काठमान्डुलाई पराजित गरेको थियो।