• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ऐरीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिमले हरायो कर्णालीलाई

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगिताको लगातार तेस्रो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीको दुवै विभागमा उत्कृष्ट प्रदर्शन सुदूरपश्चिमको जितको मुख्य आधार बन्यो।

पहिले ब्याटिङ गर्दै रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको मध्यम योगफल बनायो। कप्तान ऐरीले २८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन योगदान गरे। कठिन अवस्थामा इनिङ सम्हाल्दै उनले हर्मित सिंहसँग छैटौँ विकेटका लागि ३८ रनको महत्वपूर्ण साझेदारी गरे। हर्मितले १६ बलमा १९ रन जोडे। आरिफ सेखले २७, क्रिस लिनले १८ र विनोद भण्डारीले ११ रन बनाए। ओपनर जस ब्रोन खेलको पहिलो बलमै ‘रोयल डक’ भए।

१४० रनको लक्ष्य पछ्याउन मैदान उत्रेको कर्णाली १९.२ ओभरमा ९४ रनमै समेटियो र प्रतियोगिताको यो संस्करणमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टोली बन्यो। कर्णालीका कुनै पनि ब्याटरले ३० रन पार गर्न सकेनन्। पवन सर्राफले २७ र मार्क वाटले १७ रन बनाए। कप्तान सोमपाल कामीले १४, गुल्सन झा र अर्जुन घर्तीले समान १३–१३ रन जोडे।

कर्णालीको पतन सुदूरपश्चिमका कप्तान ऐरीकै बलिङले अझ छिटो बनायो। उनले ४ ओभरमा मात्र २३ रन खर्चेर ४ विकेट लिए। हर्मित सिंहले १ मेडनसहित २ विकेट झारे भने अविनाश बोहरा पनि २ विकेटसहित प्रभावकारी रहे। स्कट कुग्गेलिनले अत्यन्त किफायती ४ ओभरमा ९ रन मात्र खर्चेर १ विकेट लिए। हेमन्त धामीले पनि १ विकेट हात पारे।

कर्णालीतर्फबाट बलिङमा सोमपाल कामीले ३ विकेट लिँदै उत्कृष्ट खेलाए। नन्दन यादवले २ तथा वाट, विपीन शर्मा र युवराज खत्रीले समान १–१ विकेट जोडे।

लगातार तीन खेल जित्दै अपराजित रहेका सुदूरपश्चिमले यसअघि काठमाडौं र पोखरालाई क्रमशः २९ र १८ रनले पराजित गरिसकेको छ। कर्णाली भने चितवनसँग हार र लुम्बिनीविरुद्धको एक जीतपछि पुनः पराजित भएको छ।