काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ ।
‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’ सचिवालय बैठकको निर्णयमा भनिएको छ ।
यस्ता छन्, रास्वपा सचिवालय बैठकको निर्णयहरु :
१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो। सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो। सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामथ्र्य बनाउन एकजुट हुन आह्वान गर्ने ।
२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने ।
३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने ।
४. सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने ।
५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने ।