काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स विरुद्ध जित निकालेको छ ।
जारी सिजनमा सुदूरपश्चिको अपराजित यात्रा कायमै छ । यस टिमले अघिल्ला तीन खेलमा कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई हराएको थियो । शतप्रतिशत जित निकाल्ने सुदूरपश्चिचम यस सिजनको एकल टिम हो ।
लुम्बिनीको यो तेस्रो हार हो । अघिल्ला तीन खेलमा लुम्बिनीले काठमाडौं र काठमाडौंलाई हराएको थियो भने चितवन राइनोजसँग जित निकालेको थियो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको बिहीबारको पहिलो खेलमा लुम्बिनी ७ विकेटले पराजित भएको हो । टस जितेर १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १४५ रन बनायो ।
सुदुरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले सर्वाधिक अविजित ६९ रन बनाए । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर जोश ब्राउन ९, क्रिस लिन १६ र आरिफ शेखले ३९ रनको योगदान दिए । हर्मित सिंह ७ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पल्मेन, अभिषेश गौतम र तिलक भण्डारीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।
डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए । तिलक भण्डारी र रुवेन ट्रम्पेल्मेनले कुनै पनि रन जोड्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले ३, हेमन्त धामीले २ स्कट कुगेलेइजनले १ र हर्मित सिंहले ३ विकेट लिए ।