• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

ट्रम्पको कडा घोषणा: गरिब देशका शरणार्थी रोक्ने, अमेरिकालाई माया नगर्नेलाई निकालिने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशहरूबाट आउने शरणार्थीहरूलाई सँधैका लागि रोक्ने घोषणा गरेका छन् । वासिङ्टन डीसीमा दुई जना नेसनल गार्ड्सको हत्या भएलगत्तै ट्रम्पले बिहीबार यस्तो कडा कदम चाल्ने घोषणा गरेका हुन् ।

ट्रम्पले ‘अमेरिकालाई पुनः महान बनाउन’ यो निर्णय अपरिहार्य रहेको तर्क गर्दै अफगानिस्तानसहित १९ देशका प्रवासीहरूको ‘ग्रीन कार्ड’ पुनःजाँच गर्ने नयाँ नियम लागू भएको बताएका छन् । साथै, अमेरिकाले अफगान नागरिकहरूको सबै अध्यागमन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरी सुरक्षा समीक्षा सुरु गरेको छ ।

बुधबार ह्वाइट हाउस नजिकै नेसनल गार्ड्सका २ जवानमाथि गोली प्रहार भएको थियो, जसमा एकजनाको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा २९ वर्षीय अफगान शरणार्थी रहमानुल्लाह लाकनवाल पक्राउ परेका छन् । उनी अगस्ट २०२१ मा अमेरिका आएका थिए र २०२५ को अप्रिलमा मात्र उनको शरणार्थी आवेदन स्वीकृत भएको थियो ।

यस घटनालाई राष्ट्रपति ट्रम्पले ‘शरणार्थीसँग जोडिएको आतंक’ भन्दै व्याख्या गरेका छन् । उनले आरोपीलाई ‘जनावर’ को संज्ञा दिँदै भने, ‘मेरो जानकारीमा आएअनुसार संदिग्ध व्यक्ति अफगानिस्तानजस्तो ‘नरक’ भन्न मिल्ने देशबाट आएका विदेशी हुन् ।’

ट्रम्प प्रशासनले ‘चिन्ताजनक देशहरू’ (कन्सर्न कन्ट्रीज) को सूचीमा रहेका १९ देशबाट आएका प्रवासीहरूको कडा जाँच गर्ने घोषणा गरेको छ । युएससीआईएस (USCIS) का निर्देशक जोसेफ एडलोका अनुसार, यो नियम नोभेम्बर २७ बाट लागू भइसकेको छ ।

यसअन्तर्गत, ती १९ देशबाट आएर अमेरिकामा स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) पाइसकेका मानिसहरूको समेत फाइल पुनः खोलिने र कडा रूपमा पुनर्परीक्षण गरिनेछ । यो नियम पुराना र नयाँ दुवै आवेदनमा लागू हुनेछ ।

ट्रम्पले अध्यागमन नीतिलाई थप कठोर बनाउँदै भने, ‘जो मानिसहरू अमेरिकाका लागि फाइदाजनक छैनन् वा जो हाम्रो देशलाई साँचो अर्थमा माया गर्दैनन्, उनीहरूलाई पनि हटाइनेछ ।’

उनले पश्चिमी सभ्यतासँग मेल नखाने, सार्वजनिक बोझ बन्ने वा सुरक्षाका लागि खतरा मानिने व्यक्तिहरूलाई देश निकाला गरिने चेतावनी दिए । साथै, अब कुनै पनि गैर-नागरिकलाई सरकारी सुविधा, अनुदान वा लाभ नदिइने र देशको शान्ति भङ्ग गर्ने प्रवासीको नागरिकतासमेत खोसिने उनले बताए ।

अमेरिकी सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसले अफगान नागरिकहरूको सबै अध्यागमन अनुरोधहरूलाई अनिश्चितकालका लागि रोकेको छ । एजेन्सीले सुरक्षासँग जोडिएका जाँच र प्रतीक्षा प्रणाली (वेटिङ सिस्टम) को समीक्षा पूरा नभएसम्म कुनै पनि प्रक्रिया अगाडि नबढ्ने जनाएको छ ।

ट्रम्पले अघिल्लो सरकारको पालामा अमेरिका छिरेका सबै अफगान नागरिकहरूको पुनः जाँच गरिने र बाइडेन प्रशासनको ‘गलत नीति’ का कारण भित्रिएका अवैध आप्रवासीलाई फिर्ता पठाइने बताए ।

सामान्यतया ‘तेस्रो विश्व’ भनेर अफ्रिका, एसिया, ल्याटिन अमेरिका र मध्यपूर्वका कम आय भएका देशहरूलाई चिनिन्छ, यद्यपि यसको ठ्याक्कै कानुनी परिभाषा भने छैन । ट्रम्पको यो कदमले अमेरिकामा रहेका लाखौं आप्रवासीहरूको भविष्य अन्योलमा परेको छ ।

तेस्रो विश्व के हो ?

‘तेस्रो विश्व’ (थर्ड वर्ल्ड) को कुनै स्पष्ट भौगोलिक वा शाब्दिक परिभाषा छैन। यो शब्द सामान्यतया गरिब र पिछडिएका देशहरूका लागि प्रयोग गरिन्थ्यो। थर्ड वर्ल्ड शब्द ती राष्ट्रहरूका लागि प्रयोग भयो जो विश्वव्यापी औद्योगिकीकृत देशहरूलाई जोड्ने आर्थिक र राजनीतिक सम्बन्धहरूबाट बाहिर थिए। यीमध्ये धेरै युरोपका पूर्व उपनिवेश थिए।

यद्यपि, मूल रूपमा ‘थर्ड वर्ल्ड’ वा ‘तेस्रो विश्व’ शब्द शीत युद्धको समयमा न त पश्चिमी पूँजीवादी खेमा (पहिलो विश्व) को हिस्सा थिए न त सोभियत कम्युनिस्ट खेमा (दोस्रो विश्व) को। यो समूह दुवैको दायराभन्दा बाहिर थियो। तर, समयसँगै ‘थर्ड वर्ल्ड’ शब्द गरिब, विकासमा पिछडिएका वा विकासशील देशहरूका लागि प्रयोग गर्न थालियो।

सबैभन्दा पहिले फ्रेन्च जनसंख्याविद् अल्फ्रेड सौभीले सन् १९५२ मा ‘थर्ड वर्ल्ड’ शब्द प्रयोग गरेका थिए। एउटा लेखमा उनले लेखेका थिए, ‘यो थर्ड वर्ल्ड (तेस्रो विश्व), जसलाई बेवास्ता गरिएको छ, घृणा गरिएको छ, र शोषण गरिएको छ- तेस्रो एस्टेट जस्तै यो पनि केही बन्न चाहन्छ।’

उनले यो शब्दको प्रयोग तेस्रो इस्टेट (किसान, मजदुर, सामान्य जनता) को सन्दर्भमा गरेका थिए, जुन पहिलो एस्टेट (पादरी) र दोस्रो एस्टेट (कुलीन) द्वारा शोषित र वञ्चित थियो। एक प्रकारले, उनले शोषित र वञ्चित देशहरूका लागि ‘थर्ड वर्ल्ड’ शब्द प्रयोग गरेका थिए, जो वञ्चित त थिए तर अगाडि बढ्न चाहन्थे।

वर्तमान समयमा कुनै देशका लागि ‘थर्ड वर्ल्ड’ शब्दको प्रयोगलाई अपमानजनक मानिन्छ। सन् २०२२ मा संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले भनेका थिए, ‘थर्ड वर्ल्ड शब्द पुरानो भइसकेको छ र अपमानजनक छ। अब हामी विकासशील देश वा ग्लोबल साउथको कुरा गर्छौं।’ आजकल राजनीतिक र आर्थिक सन्दर्भमा यो शब्दको प्रयोग कमै हुन्छ। यसको सट्टा ‘ग्लोबल साउथ’, ‘विकासशील देश’, वा ‘निम्न एवं मध्यम आय भएका देश’ जस्ता शब्दावली प्रयोग गरिन्छ।

अहिले थर्ड वर्ल्ड देश कुन हुन्?

‘तेस्रो विश्व’ अब अप्रचलित र अपमानजनक अवधारणा हो। तर, हालको आर्थिक परिदृश्यमा हेर्दा, यसमा निम्न आय वर्ग वा सबैभन्दा कम विकसित देशहरूलाई समावेश गर्न सकिन्छ। वर्तमानमा संयुक्त राष्ट्रको सबैभन्दा कम विकसित देशहरूको सूचीमा ४४ देशहरू समावेश छन्, जसमध्ये ३२ देश अफ्रिकाका छन्।

संयुक्त राष्ट्रको सबैभन्दा कम विकसित ४४ देशहरूको सूची

अफ्रिका (३२)

अंगोला, बेनिन, बुर्किना फासो, बुरुन्डी, केन्द्रीय अफ्रिकी गणराज्य, चाड, कोमोरोस, कङ्गो लोकतान्त्रिक गणराज्य, जिबूती, इरिट्रिया, इथियोपिया, गाम्बिया, गिनी, गिनी-बिसाऊ, लेसोथो, लाइबेरिया, माडागास्कर, मलावी, माली, मौरितानिया, मोजाम्बिक, नाइजर, रुवान्डा, सेनेगल, सिएरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, टोगो, युगान्डा, तान्जानिया, जाम्बिया।

एशिया (८)

अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओ पीडीआर, म्यानमार, नेपाल, तिमोर-लेस्ते, यमन।

क्यारिबियन (१)

हैटी

प्रशान्त (३)

किरिबाती, सोलोमन द्वीप, तुभालु

– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा ।