• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीले लगातार तेस्रो हारपछि जित निकालेको छ । पोखराले भने तेस्रो हार बेहोरेको छ ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए । रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । डिक्वेला ३७ रनमा आउट भएका थिए ।

यस्तै, डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।

बलिङमा पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुईदुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे ।

एडमले ६३ बलमा ८१ रन बनाए । जिम्मीले अर्धशतक प्रहार गरे । उनी ३२ बलमा ५१ रनमा अविजित रहे । दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए । किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे ।

बलिङ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । गुल्ददिन नाइवले एक विकेट लिए ।