• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सौर्य विकिरणले विमानको विद्युतीय उपकरणलाई कसरी असर गर्छ ?

काठमाडौँ । युरोपेली विमान निर्माता कम्पनी एयरबसले आफ्ना हजारौं ‘ए-३२०’ सिरिजका विमानहरूमा सफ्टवेयर अपडेट गर्ने घोषणा गरेको छ। विमानको उडान नियन्त्रण कम्प्युटरमा सौर्य विकिरणको सम्भावित असर रोक्न र सुरक्षा सुदृढ गर्न यो कदम चालिएको हो।

यो अपडेटका कारण विश्वव्यापी रूपमा हवाई उडानहरू प्रभावित भएका छन्। धेरै उडानहरूमा ढिलाइ भएको छ भने केही रद्दसमेत गरिएका छन्।

रोयटर्सका अनुसार, जापानको अल निप्पोन एयरवेज (एएनए) ले सफ्टवेयर अपडेटकै कारण शनिबार ६५ वटा उडान रद्द गरेको थियो। यद्यपि, सफ्टवेयर अपडेट सम्पन्न भएपछि अधिकांश विमानहरू पुनः नियमित सञ्चालनमा आउने विश्वास कम्पनीले लिएको छ।

के हो सौर्य विकिरणको जोखिम ?

क्वान्टास एयरवेजका पूर्वकप्तान तथा उड्डयन र सौर्य विकिरणमा विद्यावारिधि (पीएचडी) गरेका डा. इयान गेटलीका अनुसार विमानहरू कोरोनल मास इजेक्शन (सीएमई) अर्थात् सौर्य आँधीबाट प्रभावित हुन सक्छन्। सीएमई भनेको सूर्यबाट प्लाज्मा र चुम्बकीय क्षेत्र बाहिर निस्कने एक शक्तिशाली घटना हो।

यस प्रक्रियामा सूर्यबाट निस्कने चार्जयुक्त कणहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छन्। यी कणहरूले वायुमण्डलको माथिल्लो तहमा थप चार्ज सिर्जना गर्छन्, जसले विमानको संवेदनशील इलेक्ट्रोनिक प्रणालीमा अवरोध पुर्‍याउन सक्छ।

विशेषगरी २८ हजार फिट (साढे ८ किलोमिटर) भन्दा माथि उड्ने विमान र उपग्रहहरूको इलेक्ट्रोनिक प्रणालीमा सीएमईको जोखिम उच्च हुन्छ। सौर्य गतिविधि जति तीव्र हुन्छ, नेभिगेसन र सञ्चार उपकरणमा अवरोध आउने सम्भावना उति नै बढी हुन्छ।

–बीबीसीको सहयोगमा