काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा १७.४ ओभरमा ४ विकेट गुमाउँदै सुदूरपश्चिमले जित हासिल गरेको हो ।
सुदूरपश्चिमलाई जित दिलाउन इशान पाण्डे र विनोद भण्डारीले महत्त्वपूर्ण साझेदारी गरे । पाण्डेले ३५ बलमा ५६ रन र भण्डारीले ४९ बलमा ४२ रन बनाउँदै ९१ रनको साझेदारी गरे ।
त्यसअघि जनकपुरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदैँ १४५ रन बनाएको थियो । जनकपुरले आजको खेलमा कप्तान परिवर्तन गरेर आजको लागि कप्तानी वायन पार्नेललाई दिएको थियो । तर त्यसका बाबजुद जनकपुरले हारको क्रममा ब्रेक लगाउन सकेन र लगातार चौथो हार बेहोर्यो ।
सुदूरपश्चिमको भने यो लगातार पाँचौ जित हो । योसँगै लिग चरणका २ खेल बाँकी छदै सुदूरपश्चिम प्लेअफमा पुगेको छ ।