• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जेनजी आन्दोलनका बाबजुद पर्यटक आगमनमा वृद्धि

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बाबजुद पर्यटक आगमनमा सकारात्मक वृद्धि देखिएको छ । जेनजी आन्दोलनसँगै भएको तोडफोड र आगजानीले विदेशी पर्यटक आगमनमा नकारात्मक असर पर्ने चिन्ताका माझ नेपाल आउने पर्यटक बढेका हुन् ।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२५ को नोभेम्बरमा १ लाख १६ हजार ५५३ विदेशी पर्यटक आएका छन्। यो सन् २०२४ को नोभेम्बरको दाँजोमा बढी हो । सन् २०२४ को नोभेम्बरमा १ दाख १४ हजार ४९६ पर्यटक नेपाल भित्रिएका थिए ।

गत नोभेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट १८ हजार ९९५ पर्यटक नेपाल घुम्न आएका हुन् । त्यसपछि अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१ र बेलायतबाट ७ हजार १८९ पर्यटक नेपाल भित्रिएका छन्।

क्षेत्रगत रूपमा दक्षिण एसियाबाट ३० हजार ८७० र अन्य एसियाली मुलुकबाट २८ हजार ६१३ पर्यटक आएका छन्। युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वबाट १ हजार ८०२ र अफ्रिकाबाट ४१२ आगमन भएको बोर्डले जनाएको छ।

योसँगै जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा नेपाल भित्रिने पर्यटकको संख्या १० लाख ६० हजार २६९ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५ हजारले बढी हो ।

जेनजी आन्दोलपछिको अर्को महिना अर्थात गत अक्टोबरमा पनि १ लाख २८ हजार ४४ पर्यटक नेपाल आएका थिए।