काठमाडौं । वैज्ञानिकहरूले रगतमा बसोबास गर्ने तर धेरै कम अध्ययन गरिएको ब्याक्टेरियाबाट उत्पादन हुने नयाँ एन्टि-एजिङ तत्त्वहरू (इन्डोल मेटाबोलाइट) पत्ता लगाएका छन् । जसले भविष्यमा छाला पुनर्जागरण (स्किन रिजुभेनेसन) उपचारका लागि नयाँ बाटो खोलिदिने सम्भावना देखिएको छ ।
प्रयोगशालामा उमारिएका मानव छाला कोषहरूमा गरिएको परीक्षणमा यी तत्त्वहरुले सूजन, अक्सिडेटिभ स्ट्रेस र कलेजेन नष्ट गर्ने गतिविधिलाई उल्लेखनीय रूपमा घटाउने क्षमता देखाएका छन् ।
खोजिएका १२ इन्डोल तत्त्वमध्ये तीन—जसमध्ये दुई पहिले कहिँ नदेखिएका सबैभन्दा प्रभावकारी प्रमाणित भएका छन् । वैज्ञानिकहरूका अनुसार यी प्राकृतिक रूपमा बन्ने अणुहरू शरीरभित्रै रहेका एक विशेष रक्त–ब्याक्टेरियाबाट उत्पादन हुन्छन, जसले छालामा हुने क्षति र सूजन दुवै घटाउने क्षमता राख्छन् ।
यो अध्ययन अमेरिकन केमिकल सोसाइटी र अमेरिकन सोसाइटी अफ फार्माकोग्नोसीद्वारा प्रकाशित जर्नल अफ नेचुरल प्रोडक्ट्स मा प्रकाशित गरिएको हो । अहिले पनि वैज्ञानिकहरूलाई रगतमा हुने ब्याक्टेरियाबाट उत्पादन हुने मेटाबोलाइटहरूले मानव स्वास्थ्यमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा सीमित ज्ञान मात्र छ । इन्डोल कम्पाउन्ड भने हालका वर्षहरूमा एन्टि-एजिङ, एन्टि-इन्फ्लामेटरी र एन्टि-माइक्रोबियल प्रभावका कारण विशेष ध्यानमा परिरहेका छन् ।
सन् २०१५ मा वैज्ञानिकहरूले पाराकोकस सान्जुइनीस नामक रगतमा पाइने ब्याक्टेरिया पत्ता लगाएका थिए, जसले यिनै इन्डोल यौगिकहरू उत्पादन गर्छ । यसपटक अनुसन्धानकर्ता चुङ सब किम, सुल्लिम ली तथा उनीहरूको टोलीले यही ब्याक्टेरियाले उत्पादन गर्ने तत्त्वहरुको थप अध्ययन गरेका थिए । “रगतमा पाइने सूक्ष्मजीवहरू अझै धेरै कम अध्ययन भएको क्षेत्र हो,” अनुसन्धानकर्ता किम भन्छन,“रगतको विशिष्ट वातावरणका कारण यसमा रहेका प्रजातिहरूको अध्ययनले स्वास्थ्य तथा रोगसँग सम्बन्धित धेरै नयाँ तथ्य उजागर गर्न सक्छ ।”
टोलीले पाराकोकस सान्जुइनीस लाई तीन दिनसम्म कल्चर गरेर त्यसले उत्पादन गरेका मेटाबोलाइटहरूको मिश्रण संकलन गर्यो । स्पेक्ट्रोमेट्री, आइसोटोप लेबलिङ तथा कम्प्युटेशनल प्रविधिको प्रयोग गरेर वैज्ञानिकहरूले १२ फरक–फरक इन्डोल तत्त्व पहिचान गरे, जस मध्ये ६ पहिलोपटक वैज्ञानिक अभिलेखमा दर्ता भएका हुन् ।
यी यौगिकहरू छालामा हुने बुढ्यौली प्रक्रियामा कस्तो प्रभाव पार्छन् भन्ने बुझ्न वैज्ञानिकहरूले यी इन्डोलहरूलाई मानव छाला कोषमा हालेर परीक्षण गरे। परीक्षणअघि कोषहरूलाई अत्यधिक रिएक्टिभ अक्सिजन स्पिसिज उत्पन्न हुने अवस्थाबाट गुजारेका थिए । यही अणुहरूले सूजन र कलेजेन क्षति बढाउँछन् । १२ मध्ये तीन यौगिकले ती अक्सिजन स्पिसिजलाई घटाए र सूजनसँग सम्बन्धित दुई प्रोटिनका स्तर तथा कलेजेन विघटनमा संलग्न प्रोटिन पनि कम गरे ।
भविष्यमा छाला उपचारका लागि नयाँ बाटो
अनुसन्धानकर्ताहरूका अनुसार प्रारम्भिक परिणाम निकै उत्साहजनक छन् । यी नयाँ पहिचान गरिएका इन्डोल तत्त्वहरुहरू भविष्यमा बुढ्यौलीका असरहरू घटाउने स्किन केयर उपचार विकासको आधार बन्न सक्ने सम्भावना छ । यो खोजले मानव शरीरभित्रै पाइने सूक्ष्मजीवहरूले पनि प्राकृतिक एन्टि-एजिङ तत्वहरू उत्पादन गर्न सक्छन् भन्ने रोचक तथ्य उजागर गरेको बताइएको छ ।