काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने आशालाई जीवितै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका ओपनर डार्सी सर्ट टोलीको जितका मुख्य नायक बने । उनले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाए । ६६–३ को अवस्थामा उनले निरोशन डिक्वेलासँग चौथो विकेटका लागि ४६ रनको महत्वपूर्ण साझेदारी गर्दै लुम्बिनीलाई जिततर्फ अघि बढाए । डिक्वेला २२ बलमा २९ रनमा अविजित रहे । सन्दीप जोराले २४, दिलिप नाथले १६ र सुमित महर्जनले १० रन जोडे भने कप्तान रोहित पौडेल ‘डक’ भए। लुम्बिनीका लागि शेर मल्लले ३ विकेट लिए। यसतै, अभिषेश गौतम, जेजे स्मिथ र रुवेन ट्रम्पलमेनले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। यस्तै, साम हेजलेटले २७ र बसिर अहमदले २८ रनको योगदान दिए। आजको खेलमा डेब्यु गरेका फाफ डु प्लेसिसले १२ रन योगदान गरे । बलिङतर्फ कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले समान २ विकेट र बसिर अहमदले एक विकेट लिए ।
यस जितसँगै लुम्बिनीले ६ खेलबाट ६ अंक जोड्दै प्लेअफको सम्भावनालाई कायमै राखेको छ। प्रतियोगितामा सुरुमा तीन खेल लगातार हारेको लुम्बिनीले पछिल्ला दुई खेलमा महत्त्वपूर्ण जित हात पारेको हो। विराटनगर भने यो हारसँगै अन्तिम खेलअगावै प्लेअफ पुग्नबाट रोकिएको छ।