• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै, द्विपक्षीय सम्झौता हुने

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारतको राजकीय भ्रमणका लागि आउँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा पुटिनले दुई दिने भारत भ्रमण गर्न लागेका हुन् । पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको उच्चस्तरीय बैठकमा द्विपक्षीय व्यापार, रक्षा सहकार्य, र विशेष रूपमा रूसी कच्चा तेलको भारतद्वारा आयातका विषयमा छलफल तथा सम्झौताहरु हुने भारतीय मिडियाहरुले जनाएका छन् ।

पुटिनको भारत भ्रमण विशेषत: एस-४०० मिसाइल प्रणाली, सुखोई-५७ लडाकु विमान, र अन्य महत्वपूर्ण सैन्य सामग्रीको खरिद जस्ता विषयमा ठोस् वार्ता हुने बताइएको छ । भारत र रूसका अधिकारीहरू बीच रक्षा सम्झौतामा छलफल अघि बढाउने तयारीमा छन् । यसैगरी भारतीय अधिकारीहरूले रूससँगको कृषि क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने योजना बनाएका छन् । रूसले हरेक वर्ष भारतलाई ३० देखि ४० लाख टन कृषि आपूर्ति गर्दै आएको छ र यो क्षेत्र अझै थप मजबुत बनाउनका लागि दुई देशबीच थप वार्ता हुने सम्भावना छ।

पुटिनको भ्रमणको क्रममा भारत र रूसबीच व्यापार, शिक्षा, विज्ञान र प्रविधि, र सांस्कृतिक सहकार्यका क्षेत्रमा कयौं सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। यी सम्झौताहरूले भारत र रूसको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र भविष्यमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने देखिन्छ।

भारत र रूसको मित्रता शीतयुद्धको समयमा सुरु भएको थियो र हालै युक्रेन युद्धको परिप्रेक्ष्यमा यी दुई देशका सम्बन्धमा एक नयाँ आयाम थपिएको छ। भारतले रूसको साथ आफ्नो रणनीतिक साझेदारीलाई बलियो बनाउँदै, विश्वव्यापी तनावका बीच पनि सन्तुलित कूटनीतिक नीति अपनाउँदै आएको छ।