• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अब नेपालमा ठूला दरका भारतीय नोट चल्ने

काठमाडौँ । भारतले नेपालमा ठूला दरका भारतीय नोटहरूको कारोबारमा अनुमति दिएको छ । भारतीय रिजर्भ बैंकले १०० रुपैयाँ भन्दा माथिका दरका नोटहरूको कारोबारमा रहेको प्रतिबन्ध हटाएको हो ।

भारतले नेपाल र भुटानबाट भारत यात्रा गर्ने व्यक्तिहरुले १०० भन्दा माथिका नोटहरू २५,००० रुपैयाँको सीमासम्म बोक्न सक्ने भएका छन्। यसअघि २५ हजारसम्म भारु भारतबाट ल्याउन अनुमति भएपनि लैजान पाउने व्यवस्था थिएन ।

यसअघि, सन् २०१६ मा भएको नोटबन्दीपछि नेपालमा केवल १०० रुपैयाँ दरको भारतीय नोटलाई मात्र सटही सुविधा दिइएको थियो भने ५०० र १००० रुपैयाँका नोटहरूको कारोबारमा रोक लगाइएको थियो ।

भारतलेको नयाँ निर्णायबाट नेपाली व्यवसायी र भारतीय पर्यटकहरूलाई कारोबारमा सजिलो हुने अपेक्षा गरिएको छ। नेपाल र भारतबीचको आर्थिक र व्यापारिक सन्दर्भमा यो कदम महत्त्वपूर्ण मानिन्छ । भारतको यस निर्णयले नेपालमा रहेका भारतीय कामदारहरूलाई पनि आफ्नो रकम सहजसँग सटही गर्न मौका दिनेछ ।

यसको अतिरिक्त नेपाल राष्ट्र बैंकले ठूला दरका भारतीय नोटहरूको सटही गर्नका लागि आगामी दिनहरूमा परिपत्र जारी गर्नेछ । राष्ट्र बैंकको निर्देशनपछि मात्र ठूला दरका भारतीय नोट नेपालमा सटही गर्न सकिनेछ। यद्यपि, पाकिस्तान र बंगलादेशका नागरिकलाई भने नेपालमा ठूला दरका भारतीय नोट ल्याउने अनुमति छैन ।