• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुदूरपश्चिमसँग हार्यो चितवन, प्लेअफमा पुग्ने चौथो टिम को बन्ला ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १६९ रन पछ्याएको चितवन १७.१ ओभरमा १२० रनमै अलआउट भएको हो ।

चितवनका लागि कुनै पनि ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। चितवनका लागि रवी बोपाराले २९ रन बनाउँदा देव खनाल २८, अर्जुन साउद १६, कुशल मल्ल १५, डेभिड मलान ६ र सइफ जइब ६ रनमै समेटिए । चितवनलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि पुनित मेहराले ३ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले समान १/१ विकेट लिए ।

सुदूरपश्चिमका लागि क्रिस लिनले ७५ रन जोडे र रिटायर्ड हट लिए । यस्तै, विनोद भण्डारीले २१ रन, पुनित मेहराले १३ र कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट २४ रन र आरिफ शेखले नटआउट १६ रनको योगदान गरे ।

बलिङतर्फ चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले समान १/१ विकेट लिए ।

सुदूरपश्चिमले लगातार ६ खेलमा जित निकालेर १२ अंकसहित शीर्ष २ स्थान पक्का गरेको छ । सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ। यसअघि काठमान्डु गोर्खाजले पनि प्लेअफमा स्थान पक्का गरेको छ।

चितवनको आजको हारले लुम्बिनी लायन्सलाई सहज भएको छ। अबको खेलमा लुम्बिनीले जित निकालेको खण्डमा प्लेअफमा स्थान बनाउने छ । यद्यपि, लुम्बिनीको हार भएको खण्डमा लुम्बिनीसँगै चितवन, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको सम्भावना रहन्छ । यी टिमको अंक र रन रेटले प्लेअफमा पुग्ने चौथो टिमको निर्धारण हुने छ ।