• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा प्रवेश गरेको छ ।

शनिबारको भएको खेलमा अपराजित रहेको सुदूरपश्चिले दिएको १४७ रनको लक्ष्य विराटनगरले ११ ओभर ५ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

योसँगै सुदूरपश्चिमले पहिलो हार चाखेको छ । काठमान्डुलाई रनरेटमा पछि पार्दै विराटनगर दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो ।

विराटनरको जितमा दुई ओपनरले अर्धशतक प्रहार गरे । फाफ डु प्लेसिस २० बलमा ५० र साम हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए । मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए । विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, हर्मित सिंह ०, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए ।

अब, पहिलो सुदूरपश्चिम र दोस्रो विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टोली शनिबार हुने फाइनलमा पुग्नेछ। हार्ने टोली बिहीबार हुने दोस्रो क्वालिफायरमा पुग्नेछ ।

बुधबार इलिमिनेटरको खेलमा काठमान्डु र लुम्बिनी भिड्नेछन्। जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ ।