• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दुर्गा प्रसाईँलाई शिक्षामन्त्री महावीर पुनले भने– कति हावा कुरा गरेको हाउ भाइ !

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईँको अभिव्यक्तिको कडा आलोचना गरेका छन्। पुनले प्रसाईँलाई आधारहीन र ‘हावादारी’ कुरा गरेर जनतालाई भ्रममा नपार्न सुझाव दिएका हुन्।

आफू मन्त्री हुँदा समेत बजेट अभावका कारण सोचेजस्तो काम गर्न नसकेको यथार्थ सुनाउँदै पुनले प्रसाईँका महत्त्वाकाङ्क्षी घोषणाहरू पत्याउन लायक नभएको टिप्पणी गरे।
उनले भने, ‘कति साह्रै हावा कुरा गरेको हाउ दुर्गा भाइले! शिक्षा मन्त्री भएर पनि पैसाको अभावमा मैले धेरै शिक्षकहरूलाई स्थानीय तथा महँगी भत्ता खुवाउन सकेको छैन। भवन र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरूलाई रित्तो हात फर्काउनुपरेको छ। शिक्षक अभाव झेलिरहेका विद्यालयमा एक जना शिक्षक पठाउने जगेडा बजेटसमेत मन्त्रालयसँग छैन।’

प्रसाईँले ६ लाख ऋणीलाई कालो सूचीबाट हटाउने, सुरक्षाकर्मीको मासिक तलब १ लाख पुर्‍याउने र २० लाखभन्दा कमको ऋण मिनाहा गरिदिने भनी दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै पुनले सोधेका छन्, ‘यी कामहरू कसरी गरिदिने रहेछन् दुर्गा भाइले?’

ऋण मिनाहा गर्दा बैङ्कमा रहेको सर्वसाधारणको निक्षेप डुब्ने जोखिम औँल्याउँदै पुनले थपे, ‘जनताले बैङ्कमा जम्मा गरेको पैसा डुब्यो भने के हुन्छ? उनी धनको देवता कुवेर त होइनन् नि! छापाखानामा किताब छापेजस्तै पैसा छाप्न पाइँदैन भन्ने कुरा त सबैलाई थाहा हुनुपर्ने हो।’

विगतमा रेल र पानी जहाज ल्याउने, १२ वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी बनाउने तथा सिङ्गापुर बनाउनेजस्ता ‘हावादारी’ आश्वासन बाँडिएको स्मरण गर्दै उनले त्यस्ता कुराको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरे।

अन्त्यमा, उनले तथ्य नबुझी बोल्दा हाँसोको पात्र मात्र भइने भन्दै वस्तुस्थिति बुझेर मात्र बोल्न प्रसाईँलाई सुझाव दिएका छन्।