काठमाडौँ । पाकिस्तान र अफगानिस्तानको तालिबान सुरक्षा फौजबीच सीमा क्षेत्रमा पुनः भिडन्त सुरु भएको छ। दुवै देशले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।
बढ्दो तनावका कारण सीमावर्ती अफगान सहर स्पिन बोल्डकका बासिन्दाहरूले रातारात आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ भाग्नु परेको छ।
कान्दाहार सहरको एक अस्पताल स्रोतले दिएको जानकारी अनुसार, स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको छ। यद्यपि, पाकिस्तानतर्फ कुनै मानवीय क्षति भयो वा भएन भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन।
दुवै पक्षले रातभर गोलीबारी भएको पुष्टि गरेका छन्। करिब चार घण्टासम्म चलेको यो संघर्षको सुरुवात कसले गर्यो भन्ने विषयमा भने दुवै देशले एकअर्कालाई दोषी ठहराएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका प्रवक्ता मुसर्रफ जैदीले तालिबानमाथि ‘विना उक्साहट गोलीबारी’ गरेको आरोप लगाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– हाम्रो सशस्त्र बलले तत्काल, प्रभावकारी र कडा जवाफ दिएको छ। पाकिस्तान आफ्नो सीमाको अखण्डता र नागरिकको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा सतर्क र प्रतिबद्ध छ।
यता, तालिबानका एक प्रवक्ताले भने पाकिस्तानले नै ‘फेरि आक्रमण सुरु गरेको’ र आफूहरू जवाफ दिन बाध्य भएको दाबी गरेका छन्।
युद्धविराम सम्झौताको दुई महिना नबित्दै भिडन्त
पछिल्ला केही महिनायता दुई देशबीच बारम्बार छिटपुट लडाइँ हुँदै आएको छ। यसअघि अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले आफ्नो देशभित्र ‘हवाई आक्रमण’ गरेको आरोप समेत लगाएको थियो।
कतार र टर्कीको मध्यस्थतामा दुवै पक्षले युद्धविराममा सहमति जनाएको दुई महिना पनि नबित्दै यो ताजा झडप भएको हो।
(स्रोत: हाफिजुल्लाह मारुफ, बीबीसी अफगान सेवा)