• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चितवनमाथि पोखराको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा जित निकालेको छ । प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए । उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।

एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि सय रनको साझेदारी गरेका थिए । अर्जुन ४३ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जेशन रोय ६ रनमा अविजित रहे ।

बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए ।

अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे ।

बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक तीन विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट लिए ।