• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अफ्रिकी मुलुक बेनिनमा सेनाद्वारा सत्ता कब्जाको घोषणा, सरकार भन्छ– स्थिति नियन्त्रणमा छ

काठमाडौं । पश्चिम अफ्रिकी राष्ट्र बेनिनका सेनाको एउटा समूहले राष्ट्रिय टेलिभिजनमार्फत सन्देश जारी गर्दै राष्ट्रपति प्याट्रिस तालोनलाई पदच्युत गरी सत्ता कब्जा गरेको घोषणा गरेको छ।

विद्रोही सैनिकहरूले देशको संविधान निलम्बन गरिएको, साथै सबै स्थल सीमा र हवाई क्षेत्र बन्द गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। सैनिकहरूले राष्ट्रपति तालोनको शासन सञ्चालनको आलोचना गर्दै यो कदम चालेको बताएका छन्। उनीहरूको घोषणा अनुसार, ‘सैन्य संक्रमणकालीन परिषद’ को नेतृत्व लेफ्टिनेन्ट कर्नेल टिग्री पास्कलले गर्नेछन्।

यद्यपि, सरकारी अधिकारीहरूले राष्ट्रपति सुरक्षित रहेको र टेलिभिजन स्टेसनमा देखिएको सैनिकहरूको सानो समूहलाई नियमित सेनाको समर्थन नरहेको बताएका छन्।

बेनिनका विदेश मन्त्री सेगुन अजादी बाकारीले रोयटर्स समाचार एजेन्सीसँगको कुराकानीमा स्थिति नियन्त्रणमा रहेको र सेनाको ठूलो हिस्सा अझै पनि सरकारप्रति वफादार भएको बीबीसीले लेखेको छ ।

बेनिनस्थित फ्रान्सेली दूतावासले मुख्य सहर कोटोनुमा रहेको राष्ट्रपतिको निवास नजिक गोली चलेको खबर आएको जनाएको छ। दूतावासले आफ्ना नागरिकहरूलाई सुरक्षाका लागि घरभित्रै बस्न आग्रह गरेको छ।

६७ वर्षीय राष्ट्रपति प्याट्रिस तालोन, जसलाई एक व्यापारीका रूपमा ‘किङ अफ कटन’ भनेर पनि चिनिन्छ, सन् २०१६ मा पहिलो पटक निर्वाचित भएका थिए। आफ्नो दोस्रो कार्यकाल पूरा गरेर उनी अर्को वर्ष पदबाट हट्ने तयारीमा थिए। उनले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने वाचा गर्दै आफ्नो उत्तराधिकारीको नाम समेत तोकिसकेका थिए।

बेनिन अफ्रिकाको सबैभन्दा ठूलो कपास उत्पादक राष्ट्र हो तर यो विश्वका गरिब देशहरूको सूचीमा पर्छ। यसलाई अफ्रिकाको तुलनात्मक रूपमा स्थिर लोकतन्त्र मानिँदै आएको थियो।

यो घटना छिमेकी देश गिनी–बिसाउमा राष्ट्रपति उमरो सिसोको एम्बालोलाई अपदस्थ गरिएको घटनाको एक साताभन्दा केही समयपछि भएको हो। पछिल्ला वर्षहरूमा बुर्किना फासो, गिनी, माली र नाइजर लगायतका पश्चिम अफ्रिकी देशहरूमा लगातार सैन्य ‘कू’ भइरहेका छन्, जसले यस क्षेत्रको सुरक्षा व्यवस्था कमजोर बन्दै गएको डर पैदा गरेको छ। साथै, बेनिनमा इस्लामिक स्टेट र अल–कायदा समर्थित समूहहरूको गतिविधि बढ्दै गएको पाइन्छ।