• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

थाईल्यान्ड र कम्बोडियाबीच फेरि विवाद, थाई सेनाद्वारा हवाई हमला

थाईल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद फेरि चर्किएको छ। विवादित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान भएपछि थाईल्यान्डले कम्बोडियाविरुद्ध हवाई हमला गरेको जनाएको छ।

थाई सेनाका अनुसार सोमबार बिहान कम्बोडियाको तर्फबाट गोली प्रहार हुँदा एक थाई सैनिकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। यसको जवाफमा थाई वायुसेनाले कम्बोडियाका सैन्य आधारहरूमा हवाई आक्रमण गरेको हो।

अर्कोतर्फ, कम्बोडियाले भने सुरुमा थाई सैनिकले नै आक्रमण गरेको तर आफूले जवाफी कारबाही नगरेको दाबी गरेको छ।

यो भिडन्त थाईल्यान्डका सीमावर्ती प्रान्तहरू (सिसाकेत र उबोन राचथानी) र क्याम्बोडियाका प्रान्तहरू (प्रेय विहिअर र ओदार मिअन्चे) मा भएको बताइएको छ।

केही महिनाअघि मात्र मलेसिया र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा दुई देशबीच ‘युद्धविराम’ सम्झौता भएको थियो। तर अहिले दुवै देशले एकअर्कालाई सो सम्झौता उल्लंघन गरेको आरोप लगाइरहेका छन्।

यसअघि गत जुलाई महिनामा भएको पाँच दिने युद्धमा ४८ जनाको मृत्यु भएको थियो भने करिब ३ लाख मानिस विस्थापित भएका थिए।

थाई वायुसेनाले आफूहरूले केवल क्याम्बोडियाली सैन्य शिविरहरूलाई निशाना बनाएको र सर्वसाधारणलाई जोगाएको दाबी गरेको छ। तर, सीमा क्षेत्रमा युद्धको डरले हजारौँ मानिस सुरक्षित स्थानतर्फ भाग्न थालेका छन्। विद्यालयहरू बन्द भएका छन्।

यो घटनापछि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले दुवै पक्षलाई संयमित हुन र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।

मलेसियाले यसअघि दुई देशबीचको तनाव कम गर्न मध्यस्थता गरेको थियो। अहिले सीमा क्षेत्रमा दुवै पक्षबीच ठूलो अविश्वास कायम छ र स्थिति तनावपूर्ण बनेको छ।