काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन् । सोमबार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले यस्तो चेतावनी दिएका हुन् ।
प्रसाईंले आफूहरूले राखेका माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको उल्लेख गर्दै ती मागको सुनुवाइ नभए कसैले नसोचेको विद्रोह हुने बताए । भेटका क्रममा प्रधानमन्त्री कार्कीले मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने प्रतिबद्धता जनाएको प्रसाईंले जानकारी दिए ।
प्रसाईंले २०६२/६३ को जनआन्दोलनको म्यान्डेट संघीयता र धर्मनिरपेक्षता ल्याउनु नरहेको जिकिर गरे । उनले भने, ‘जनआन्दोलनको म्यान्डेट राजसंस्था फ्याँक्ने थिएन । यो कसरी भयो ? इँजार जहाँ गाँठो परेको हो, त्यहीँ फुकाउनुपर्छ । चंगाको धागो जहाँ चुँडिएको हो, त्यहीँ गाँस्नुपर्छ ।’
उनले अहिलेको व्यवस्था परिवर्तन गर्न तथा किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य कायम गर्न जनमत संग्रहमा जानुपर्ने माग राखे । ‘तपाईंले नाति खेलाउने व्यवस्था ल्याउन जनमत संग्रहमा जाऔँ, यो व्यवस्था ठिक छ कि छैन भनेर जनतालाई सोधौँ,’ उनले भने ।
प्रसाईंले सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन समयमा नहुने दाबी समेत गरे । प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना कुरा गम्भीरतापूर्वक सुनेको भन्दै उनले भने, ‘तपाईंका माग जनजीविकोपार्जनका माग हुन्, जुन कम्युनिष्टले बोक्नुपर्ने थियो । तर, उनीहरूले यसलाई भर्याङ बनाएर अर्बौं कमाए ।’
प्रधानमन्त्री कार्कीले पुस २ गतेसम्म अध्ययन गरेर निर्णय दिने आश्वासन दिएको बताउँदै प्रसाईंले भने, ‘उहाँले सही निर्णय दिनुभएन भने चुनाव हुँदैन, आशै नगर्नुहोला ।’