थाइल्यान्ड, इन्डोनेसिया, भियतनामजस्ता देशले पर्यटनलाई आर्थिक मेरुदण्डका रूपमा विकास गरिसकेका छन् । तर, हामी भने अझै अलमलमै छौँ । नेपालमा भने अझै पनि पर्यटनलाई गहिरोसँग बुझ्नै सकिएको छैन । देश विकासका लागि पर्यटन व्यवसाय विकल्प होइन, अपरिहार्य क्षेत्र हो भनेर बुझ्नु जरुरी छ ।
पर्यटन व्यवसाय बढ्दा स्थानीय उत्पादन खपत बढ्छ, रोजगारी सिर्जना हुन्छ र देशमा विदेशी मुद्रा आम्दानी हुन्छ । त्यसैले पर्यटन ठूलो उद्योग हो ।
नेपालमा अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी (जस्तै, म्यारियट, हायात, ऱ्याडिसन, हिल्टन होटल आदि) को प्रवेशले पर्यटन उद्योगमा सकारात्मक असर पारेको छ । पहिलो कुरा, चेन होटलले जनशक्ति विकासमा ठूलो योगदान दिएको छ । अहिले ब्रान्डेड होटलमा काम गर्ने कर्मचारीले विश्वस्तरीय तालिम पाएका छन् । अहिले नेपालका धेरै होटलमा जनरल मेनेजर भारतबाट ल्याइएको छ । तर, अबको पाँच–सात वर्षपछि ती सबै पदमा नेपाली नै हुनेछन् । भारतले पनि पहिले युरोपबाट जनशक्ति ल्याएको थियो, पछि आफ्नै जनशक्ति तयार भएपछि परिस्थिति बदलियो ।
ब्रान्डेड होटलमा काम गरेका कर्मचारी पछि ‘नन ब्रान्डेड’ होटलमा ठूलो ‘पोस्ट’ मा जान सक्छन् । त्यहाँ गएर उनीहरूले आफूले ठूला ब्रान्डेड होटलमा सिकेका कुरा लागू गर्छन्, त्यसले स्थानीय होटललाई पनि फाइदा हुन्छ ।
दोस्रो, होटल उद्योगमा विभिन्न ब्रान्ड आउँदा ठूला ब्रान्डबीच पनि प्रतिस्पर्धा बढेको छ । यसबाट गुणस्तरीय सेवा–सुविधा प्रवाहमा पनि प्रतिस्पर्धा बढेको छ । यसले हाम्रो स्तर उकास्न पनि सघाएकै छ । होटलको गुणस्तर सुध्रने यो कार्य निजी क्षेत्रले गरेको लगानीका कारण भएको हो ।
यसको सकारात्मक पाटो के भने चेन होटलको विस्तारले नन–ब्रान्डेड तथा स्थानीय होटललाई पनि असर गर्दैन । किनभने, ब्रान्डेड र नन–ब्रान्डेड होटलका ग्राहक नै फरक हुन्छन् ।
विदेशी ब्रान्डको छुट्टै विशेषता हुन्छ । विदेशबाट आउने ग्राहक चेन होटल खोजेर आउँछन् । उनीहरूलाई अमेरिका गएर म्यारियट, एक्वार वा हिल्टनलगायतका चेन होटलमा बस्नु र नेपालमा गएर बस्नुमा सुविधा एउटै हो भन्ने थाहा हुन्छ । विश्वभर परिचित ब्रान्ड भएकाले पर्यटकलाई सेवा–स्तरबारे धेरै सोच्नुपर्दैन । यत्रो भरोसा बोकेका अन्तर्राष्ट्रिय होटल नेपाल भित्रिनु पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो ।
चेन होटल भित्रिएका कारण विदेशमा हाम्रो होटलको निःशुल्क प्रचार भएको छ । यी ब्रान्डले आफ्नो सूचीमा हाम्रा होटलको नाम राखेका छन् । यसले विश्वको चेन होटलमा हामीलाई चिनाउन मद्दत पुगेको छ । अन्तर्राष्ट्रिय ब्रान्डका होटल नेपालमा विस्तार भइरहनु आफैँमा एउटा सशक्त सन्देश हो कि नेपाल पर्यटकका लागि विश्वस्तरको सेवा, सुरक्षा र अनुभव प्रदान गर्न सक्षम गन्तव्य हो । साथै, नेपालले आफ्नो पर्यटन ब्रान्डिङमा ‘गुणस्तर’ र ‘विश्वसनीयता’ लाई प्राथमिकता दिएको छ भन्ने हो । यसले नेपाललाई विश्व पर्यटन व्यवसायमा प्रतिस्पर्धीतिर लम्केको देखाउँछ ।
अन्तर्राष्ट्रिय चेन होटलको विस्तारले पर्यटकलाई हाम्रा स्थानीय संस्कृति, परम्पराबारे बुझाउन पाएका छौँ । नेपाली संस्कृति, कला तथा खाद्य परम्परालाई विश्वस्तरमा प्रस्तुत गर्ने एउटा प्लेटफर्म थपिएको छ । किनभने, यस्ता चेन होटलले आफ्नो अन्तर्राष्ट्रिय मापदण्डभित्रै स्थानीय काष्ठकला, हस्तकला, भित्तेचित्र, नेवारी/थकाली/हिमाली खान्साजस्ता तत्वलाई समावेश गर्न थालेका छन् । यसले स्थानीय उत्पादनको खपत, प्रचार र संस्कृतिको प्रवर्द्धन भएको छ ।
अन्तर्राष्ट्रिय चेन हस्पिटालिटीमा नेपाल पर्न थाले पनि राज्यले यसका लागि आवश्यक पूर्वाधार, अनुमति प्रक्रिया र लगानी सुरक्षालाई विश्व मापदण्डमा लैजाने स्पष्ट प्रतिबद्धता देखाउन सकेको छैन ।
हवाई कनेक्टिभिटी, सडक पहुँच, पर्यटन क्षेत्रको सुरक्षा र डिजिटल प्रवर्द्धनलगायत आधारभूत क्षेत्र मजबुत नहुँदा केवल होटल बनाएर मात्र टिकाउ विकास हुँदैन । निजी क्षेत्रले पनि ‘ब्रान्ड’ मात्र भित्र्याउने होइन, स्थानीय मानव संसाधन विकास, सेवा स्तरोन्नति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्छ । अन्तर्राष्ट्रिय मापदण्ड पुऱ्याउने नाममा स्थानीय पहिचान हराउन दिनुहुँदैन । त्यसैले व्यावसायिकता र मौलिकताको सन्तुलन मिलाउनु निजी क्षेत्र र राज्य दुवैकै जिम्मेवारी हो ।
अन्तर्राष्ट्रिय चेनहरूको प्रवेशले नेपालको पर्यटनलाई उच्चस्तरमा पुऱ्याउने अवसर दिएको छ । तर, त्यो अवसरको दिगोपन सुनिश्चित गर्न स्थानीय पहिचान, समुदाय र सन्तुलित बजार संरचना जोगाइराख्नुपर्छ ।
प्रत्यक्ष विदेशी लगानी नै यो क्षेत्रको सबैभन्दा ठोस योगदान हो । ठूलो पुँजी नेपालमै लगानी हुँदा निर्माण, पूर्वाधार, सामग्री आपूर्ति र सेवा क्षेत्रमा ठूलो आर्थिक गतिविधि सिर्जना हुन्छ ।
पाँचतारेदेखि उच्चस्तरीय चेन होटलसम्म सयौँ कर्मचारी आवश्यक हुन्छन् । जस्तै, अफिस, हाउसकिपिङ, कुकरी, इन्जिनियरिङ, सेल्स एन्ड मार्केटिङ, फाइनान्स, सेफ्टी, इभेन्ट म्यानेजमेन्टदेखि लिएर उच्च व्यवस्थापनसम्ममा थुप्रै जनशक्ति आवश्यक हुन्छ । यसले हजारौँ युवालाई रोजगार सिर्जना गरी आयस्तर बढाउन सघाएको छ ।
यी होटलले सीप र प्राविधिक क्षमता हस्तान्तरण गर्छन् । आधुनिक व्यवस्थापन प्रणाली, फुड सेफ्टी नियम, डिजिटल बुकिङ प्रणाली जस्ता सीप नेपाली श्रमिकले सिक्छन् ।
खर्चालु पर्यटक आउँछन्
नेपालमा खर्चालु पर्यटक नआउने समस्या रहेको धेरैले टिप्पणी गर्छन् । अन्तर्राष्ट्रिय चेन होटल आगमनले खर्चालु पर्यटकको आगमन सहज बनाउँछ किनभने ब्रान्डेड होटलमा बस्ने पर्यटकको प्रतिव्यक्ति खर्च उच्च हुन्छ । होटल बाहिरका रेस्टुरेन्ट, यातायात, गाइड, स्थानीय उत्पादन खरिद तथा अन्य गतिविधिमा खर्च बढ्छ । यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ ।
अन्तर्राष्ट्रिय चेनको उपस्थितिले ब्रान्डेड र विश्वास निर्माण गर्ने भएकाले विदेशमा नेपाललाई सुरक्षित, सेवा–विश्वसनीय र उच्चस्तरीय गन्तव्यका रूपमा स्थापित गर्छ । यसले खर्च गर्ने क्षमता भएका पर्यटक संख्या बढाउँछ । दीर्घकालीन रूपमा नेपालको आर्थिक अवस्था माथि पुऱ्याउँछ । म व्यावसायिक सिलसिलामा धेरै देश घुमेँ । ती देशले होटलमा गरेको लगानी हेर्दा नेपालमा त केही नभएको अवस्था छ । होटलमा लगानी गर्न नेपाल अझै ‘भर्जिन ल्यान्ड’ हो भन्दा फरक पर्दैन ।
सुधार हुँदै छ
सरकारको नीतिले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय चेन होटल विस्तारका लागि वातावरण क्रमशः सहज बन्दै गएको छ । तर, यो पूर्ण रूपमा संरक्षित, स्थिर र दिगो बन्न सकेको छैन । विदेशी लगानी प्रक्रियामा एकद्वार प्रणाली लागू गर्ने प्रयास, पाँचतारे होटल अनुमतिमा मापदण्ड स्पष्ट पार्ने, पर्यटन पूर्वाधारलाई प्राथमिक क्षेत्रको रूपमा सूचीकृत गर्ने काममा लागि सहजीकरणको प्रयास भएको छ । तर, अझै पनि सरकारले यसलाई अर्थतन्त्र सबलीकरण गर्ने रणनीतिक अवसर मान्न तयार भइनसकेको उसको व्यवहारले देखाउँछ । खाली होटल संख्या थपिएको सामान्य अर्थमा राज्यले तथ्यांक मात्र गरिरहेको छ ।
पूर्वाधार विकासमा सरकारको लगानी अझै पुगेको छैन । पर्यटन बढाउने जिम्मा केवल निजी क्षेत्रको मात्रै होइन । सरकारको भूमिकाबिना यो फस्टाउने हामीले कल्पना गर्न सक्दैनौँ । विमानबाट झर्नेबित्तिकै पर्यटकले सहज सेवा खोज्छ र पाउनुपर्छ । सामान लिन घन्टौँ लाइनमा बस्नु नपरोस्, सवारी सुविधामा झन्झट नहोस्, सडक राम्रो होस् । पर्यटकले पहिलो कुरा देशको सुरक्षा, सहजता, वातावरण हेर्छ । होटल त त्यसपछि मात्रै ।
हामीले देशलाई पर्यटकीय गन्तव्यको रूपमा ‘सेल’ गर्न पर्यटकलाई भगवानझैँ सम्मान गर्नुपर्छ । झन्झट, दुःख दिने होइन । त्यहीअनुसार सेवा र पूर्वाधार हुनुपर्छ । पर्यटन आकर्षणमा चेन होटलको भूमिका ३० प्रतिशत मात्रै हुन्छ । कोही पर्यटकले यात्रा गर्ने योजना बनाउँदा सुरुमै यो होटलमा बस्छु भनेर सोचेको हुँदैन । पहिले ठाउँ ‘देश’ सोचिन्छ । त्यसपछि त्यहाँको सुरक्षा हेरिन्छ । उडान, सडकको अवस्था हेरेर यात्रा कत्तिको सहज हुन्छ र कुनै समस्या आइपऱ्यो भने समाधानको संयन्त्र कस्तो छ भन्ने निर्धारण गरेपछि मात्रै होटल बन्दोबस्तको विषय आउँछ ।
वातावरण बनाइदिए पुग्छ
जेनजी आन्दोलनअघि ९५ प्रतिशत अकुपेन्सीमा चलिरहेका होटल अहिले ७० प्रतिशतमा झरेका छन् । घाटा बढेको छ, लगानी ठूलो छ । यस्तो अवस्थामा सरकारले होटल व्यवसायीलाई कर्जा पुनर्संरचना गरेर सहयोग गर्नुपर्छ । पर्यटन व्यवसायी खुसी भए मात्रै पर्यटन उद्योग चल्छ । कुनै आन्दोलन वा संकट पर्दा सरकारले ‘हामी छौँ’ भनेर अभिभावकत्व देखाउन सक्नुपर्छ ।
हुन त, नेपालीहरू कठिन परिस्थितिमा पनि सहजै काम गर्ने वर्गमा पर्छन् । तर, निजी क्षेत्रका पाइलामा सरकारले पनि साथ दिनुपर्छ । लगानी वातावरण बनाएर हौसाउनुपर्छ । पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने हो भने सरकारले धेरै केही गर्नुपर्दैन । ऐन संशोधन मात्रै गरिदिए हुन्छ ।
अहिले पनि हामी २०३५ को पुरानो पर्यटन ऐनमै अडिएका छौँ । केही संशोधन भए पनि व्यवसायमा सकारात्मक असर पार्ने गरी परिवर्तन हुन सकेको छैन । वातावरण प्रभाव मूल्यांकन (इआइए) को प्रक्रिया जटिल छ । जंगलसम्बन्धी कडा प्रावधान उस्तै छन् । यी कुरा संशोधन गरिदिए मात्रै पनि धेरै सहज हुने थियो ।
अर्को ठूलो समस्या कर संरचनामा छ । हामीले अहिले १३ प्रतिशत भ्याट र २ प्रतिशत लक्जरी कर थपेर १५ प्रतिशत तिर्छौं । तर, लक्जरी कर त्यतिबेला लगाउनुपर्छ, जतिबेला देशमा धेरै पर्यटक हुन्छन् । नेपालमा पर्यटक अझै अभाव छ । अहिले नै लक्जरी कर लगाउनाले नेपाल ‘महँगो गन्तव्य’ का रूपमा परिचित हुँदै गएको छ ।
त्यस्तै, विदेशी होटल ब्रान्ड ल्याउँदा मात्रै पनि ५ प्रतिशत रोयल्टी तिर्नुपर्छ । यस्तो बाध्यताले विदेशी ब्रान्डलाई नेपाल आउन हतोत्साहित गरेको छ । यसतर्फ हामी सचेत हुन जरुरी छ ।
–होटल व्यवसायी बस्नेतले सेजन स्मारिका २०८२ मा प्रस्तुत गरेको विचार।