• २०८३ असार २१
  • 2026 July 05, Sunday

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

नेपालस्थित भारतीय राजदूतावास, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजित भएको छ।

बौद्ध धर्ममा विशेष ध्यान दिँदै आयोजना गरिएको कार्यक्रममा दुवै देशको समृद्ध सांस्कृतिक सम्पदा र परम्पराको उत्सव मनाइएको थियो। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्ती मगर, भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) श्री मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा नागरिक समाजका सदस्य, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सांस्कृतिक कार्यक्रममा भारत र नेपालका चर्चित कलाकारहरूको प्रस्तुति राखिएको थियो। श्री सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेका थिए। साथै साँझमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ले परम्परागत संगीत प्रस्तुत गरेको थियो।

त्यसै दिन बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेज: अ कमन लिगेसी” विषयमा एक शैक्षिक गोष्ठी पनि आयोजित गरिएको थियो। गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरूले बौद्ध सम्पदा र त्यसको महत्त्वबारे विचार विमर्श गरेका थिए।

यस महोत्सवले दुई राष्ट्रबीचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।