• २०८३ असार २१
  • 2026 July 05, Sunday

पिताको शोक समारोहमा खामेनी अनुपस्थित भएपछिको प्रश्न- इरान अहिले कसले हाँकिरहेको छ?

इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको राजकीय शोक समारोह देशभर जारी छ। लाखौं नागरिक सडकमा उत्रिएर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। तेहरानदेखि कोम, नजफ, करबला हुँदै मशहदसम्म सञ्चालन भइरहेको साताव्यापी शोक कार्यक्रमलाई इरानले आफ्नो इतिहासकै सबैभन्दा ठूलो राजकीय श्रद्धाञ्जलीमध्ये एक मानेको छ।

तर यति ठुलो समारोहका बीच एउटा प्रश्नले सबैको ध्यान खिचेको छ-देशका वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी आखिर कहाँ छन्? आफ्नै पिताको जनाजामा समेत उनी सार्वजनिक रूपमा नदेखिएपछि अहिले विश्वभर अर्को प्रश्न पनि उठिरहेको छ-खासमा अहिले इरान कसले चलाइरहेको छ?

शोकमा समारोहमा विश्वका नेताहरू

इरानको राजकीय श्रद्धाञ्जली कार्यक्रममा एक सयभन्दा बढी देशका प्रतिनिधिमण्डल सहभागी हुने अपेक्षा गरिएको छ। धेरै राष्ट्राध्यक्ष, प्रधानमन्त्री तथा वरिष्ठ सरकारी अधिकारीहरू तेहरान पुगेका छन्। हालसम्म श्रद्धाञ्जली कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, पाकिस्तानका सेना प्रमुख फील्ड मार्शल आसिम मुनिर, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमान, आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान, जर्जियाका राष्ट्रपति मिखेइल काभेलाशभिली टर्कीका उपराष्ट्रपति जेभडेट यिलमाजसँगै रुस, चीन, अफगानिस्तान तथा मध्यपूर्वका विभिन्न मुलुकका उच्च प्रतिनिधिहरू सहभागी भएका छन् ।

सर्वोच्च नेता भने अनुपस्थित

सामान्य अवस्थामा कुनै पनि देशको सर्वोच्च नेतृत्वले आफ्नै अभिभावकको अन्तिम संस्कारमा नेतृत्व गर्नु स्वाभाविक मानिन्छ। तर मोज्तबा खामेनी भने समारोहभर सार्वजनिक रूपमा देखिएका छैनन्।

इरानसँग निकट स्रोतहरूका अनुसार उनले अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुने इच्छा व्यक्त गरेका थिए। तर सुरक्षा निकायले इजरायलबाट सम्भावित लक्षित आक्रमणको जोखिम अत्यन्त उच्च रहेको भन्दै सार्वजनिक कार्यक्रममा जान अनुमति दिएन।

इजरायलले यसअघि पनि इरानी उच्च नेतृत्वलाई लक्षित आक्रमण गर्ने चेतावनी दिँदै आएको पृष्ठभूमिमा सर्वोच्च नेताको सुरक्षा अहिले राष्ट्रिय प्राथमिकता बनेको बताइएको छ।

कहाँ छन् मोज्तबा ?

इरानी सरकारले उनको वर्तमान स्थान सार्वजनिक गरेको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी अत्यन्तै सुरक्षित र गोप्य स्थानमा राखिएका छन्। केही रिपोर्टले उनी हालसम्म सार्वजनिक कार्यक्रममा नआउनुको कारण हालैको आक्रमणमा लागेको चोट र सुरक्षा जोखिम दुवै भएको उल्लेख गरेका छन्। तर उनको स्वास्थ्य अवस्था, घाइते भएको स्तर वा उनी कुन स्थानमा छन् भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

यसैले उनीबारे सार्वजनिक भएका धेरै विवरण अनुमान वा सुरक्षा स्रोतमा आधारित रहेकाले सावधानीपूर्वक हेर्नुपर्ने अवस्था छ।

इरान अहिले कसले चलाइरहेको छ?

यस प्रश्नको छोटो उत्तर हो-संवैधानिक रूपमा अहिले पनि इरानको सबैभन्दा शक्तिशाली व्यक्ति सर्वोच्च नेता मोज्तबा खामेनी नै हुन्।

यद्यपि, उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्, त्यसले उनको संवैधानिक अधिकार समाप्त भएको अर्थ लाग्दैन।

धेरैलाई लाग्न सक्छ राष्ट्रपति नै देशका सबैभन्दा शक्तिशाली व्यक्ति हुन्। तर इरानमा वास्तविकता फरक छ।

हालका राष्ट्रपति मसुद पेजेशकियन सरकार सञ्चालन, मन्त्रालय, बजेट, अर्थतन्त्र र दैनिक प्रशासन हेर्छन्।

इरानको शासन प्रणालीमा दैनिक प्रशासन राष्ट्रपति नेतृत्वको सरकारले सञ्चालन गर्छ भने सम्पूर्ण राज्य संरचनाको अन्तिम अधिकार सर्वोच्च नेतासँग रहन्छ।

सर्वोच्च नेता सशस्त्र सेनाका सर्वोच्च कमाण्डर हुन्। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स माथिको अन्तिम नियन्त्रण सर्वोच्च नेताले नै राख्छन्। न्यायपालिकामा प्रभाव र राज्य प्रसारण संस्था नियन्त्रण पनि उनकै रहन्छ । विदेश तथा राष्ट्रिय सुरक्षा नीतिको अन्तिम निर्णय, ।युद्ध वा शान्तिसम्बन्धी महत्वपूर्ण निर्णयमा निर्णायक भूमिका समेत उनकै रहन्छ।

यस कारण इरानमा राष्ट्रपतिभन्दा सर्वोच्च नेता धेरै शक्तिशाली मानिन्छन्।

राष्ट्रपति के गरिरहेका छन्?

सर्वोच्च नेता सार्वजनिक रूपमा अनुपस्थित रहे पनि राष्ट्रपति पेजेशकियन नियमित सरकारी गतिविधिमा सक्रिय छन्।

सरकारले शोक कार्यक्रमको व्यवस्थापन, अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलको स्वागत, सुरक्षा समन्वय तथा प्रशासनिक कार्य निरन्तर सञ्चालन गरिरहेको छ।

सुरक्षा चुनौती अझै कायम

इरान-अमेरिका-इजरायलबीचको पछिल्लो युद्धपछि इरान अझै उच्च सुरक्षा सतर्कतामा छ।

सुरक्षा विश्लेषकहरूका अनुसार सर्वोच्च नेता सार्वजनिक रूपमा देखिएमा उनी फेरि आक्रमणको लक्ष्य बन्न सक्ने जोखिमलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन। त्यसैले उनको सार्वजनिक गतिविधि अत्यन्त सीमित बनाइएको छ।

शोक मात्र होइन, शक्ति प्रदर्शन पनि

विश्लेषकहरूका अनुसार अली खामेनीको अन्त्येष्टि केवल धार्मिक वा पारिवारिक कार्यक्रम होइन।

यो इरानका लागि राष्ट्रिय एकता, शासनको निरन्तरता र अन्तर्राष्ट्रिय समुदायलाई राजनीतिक सन्देश दिने अवसर पनि हो। विशाल जनसहभागिता, विदेशी प्रतिनिधिमण्डलको उपस्थिति र सुरक्षा व्यवस्थामार्फत इरानले आफ्नो राज्य संयन्त्र अझै मजबुत रहेको सन्देश दिन खोजिरहेको विश्लेषण गरिएको छ।

मोज्तबा खामेनी कहिले सार्वजनिक रूपमा देखिन्छन् भन्नेबारे इरानी सरकारले कुनै समयसीमा दिएको छैन।

तर सुरक्षा जोखिम घट्दै गएपछि उनले राष्ट्रलाई सम्बोधन गर्ने वा सार्वजनिक कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ। त्यतिन्जेलसम्म राष्ट्रपति नेतृत्वको सरकारद्वारा दैनिक प्रशासन सञ्चालन भइरहे पनि संवैधानिक रूपमा इरानको सर्वोच्च राजनीतिक, धार्मिक तथा सैन्य अधिकार भने सर्वोच्च नेता मोज्तबा खामेनीकै हातमा रहनेछ।

यसबीच एउटा कुरा भने स्पष्ट देखिएको छ- अली खामेनीको निधनपछि इरान नयाँ नेतृत्वको चरणमा प्रवेश गरिसकेको छ। तर नयाँ सर्वोच्च नेता सार्वजनिक रूपमा अनुपस्थित रहँदा विश्वको ध्यान अहिले इरानको शक्ति संरचना, सुरक्षा अवस्था र आगामी राजनीतिक दिशातर्फ केन्द्रित भएको छ।

(एजेन्सीहरुको सहयोगमा)