• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सर्वोच्चको आदेशपछि कुलमानको प्रतिक्रिया : अदालतको सम्मान गर्छु, तर काम नगर्नेलाई छुट दिन्नँ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध साँधेर काम नगरेको स्पष्ट पारेका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङले अदालतको आदेश र आफ्नो कार्यशैलीबारे टिप्पणी गरेका हुन्।

उनले आफ्नो मुख्य ध्येय परिणाममुखी काम गर्नु रहेको र त्यसमा कसैप्रति पनि पूर्वाग्रह नराखिने बताए। काममा परिणाम नदेखाई पदमा बसिरहनुको औचित्य नहुनेमा जोड दिँदै उनले भने, ‘मैले कसैप्रति प्रतिशोध साँधेर काम गरेको छैन। मेरो उद्देश्य भनेको सही ठाउँमा सही मान्छे राखेर काम गर्नु हो।’

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको प्रसङ्ग कोट्याउँदै घिसिङले सो निर्णय व्यक्तिगत प्रतिशोध नभई संस्थागत सुधारका लागि चालिएको कदम भएको दाबी गरे।

पछिल्लो समय विकसित घटनाक्रम र सर्वोच्चको आदेशतर्फ लक्षित गर्दै घिसिङले विधि र प्रक्रियाको पूर्ण सम्मान गर्ने बताए।

यद्यपि, उनले आफ्नो कार्यकालमा नतिजा देखाउन नसक्ने र निर्णय लिन नसक्नेलाई भने कुनै छुट नदिइने चेतावनी दिए। ‘हामी अदालतको निर्णयलाई सम्मान गर्छौँ। तर, पद ओगटेर मात्र बस्ने, निर्णय नगर्ने र काम नगर्नेलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘नत्र प्रोजेक्टहरू बन्दैनन्।’

सोमबार हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वाेच्च पुगेका थिए ।