भारतको उत्तर प्रदेशमा एउटा ट्रक पक्राउ परेको घटनाको अनुसन्धान गर्दै जाँदा प्रतिबन्धित ‘कोडिनयुक्त’ कफ सिरपको तस्करीको जालो नेपालसम्म फैलिएको खुलासा भएको छ। प्रहरीका अनुसार भारतमा वैधानिक रूपमा उत्पादन हुने कफ सिरप अवैध बाटो हुँदै नेपाल र बंगलादेशमा बेच्ने गरिएको पाइएको छ।
भारतको मध्य प्रदेश र राजस्थानमा कफ सिरप सेवनबाट बालबालिकाको मृत्यु भएपछि सुरु भएको अनुसन्धानले यो अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास गरेको हो।
अनुसन्धानमा संलग्न भारतीय प्रहरी अधिकारीहरूका अनुसार कफ सिरप फ्याक्ट्रीबाट पूर्ण रूपमा वैध प्रक्रिया पुर्याएर निकालिन्थ्यो। तर, वितरकहरूले नक्कली कम्पनीहरूको नाममा बिल बनाएर यसलाई बीच बाटोबाटै गायब पार्थे।
अधिकारीहरूले दाबी गरेका छन्, लाखौँ सिसी कफ सिरप भारतीय पसलहरूमा पुग्नुअघि नै नेपाल र बंगलादेश पठाइन्थ्यो। भारतको तुलनामा नेपाल र बंगलादेशमा यसको मूल्य तीन गुणासम्म बढी पर्ने भएकाले तस्करहरूले यसलाई सीमापार पठाउने गरेका थिए।
प्रहरीको जाँचमा तस्करीको मुख्य केन्द्र भारतको वाराणसी रहेको र त्यहाँबाट चन्दौली, जौनपुर, गाजीपुर र आजमगढजस्ता जिल्ला हुँदै यसको अवैध कारोबार फैलिएको पाइएको छ। उत्तर प्रदेशको सोनभद्र जिल्ला विभिन्न राज्यसँग जोडिएको हुनाले यसलाई तस्करीको ट्रान्जिट बनाइएको थियो।
उत्तर प्रदेश सरकारले राज्यमा कफ सिरपको जाँच सुरु गरेको क्रममा गत १८ अक्टोबरमा सोनभद्र जिल्लामा प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार उक्त ट्रकमा माथि चिप्स र नमकिनका प्याकेटहरू राखिएको थियो भने त्यसको मुनि भारी मात्रामा कोडिनयुक्त कफ सिरप लुकाएर ओसारपसार भइरहेको थियो। खाद्य सुरक्षा तथा औषधि प्रशासन (एफएसडीए) विभागकी सचिव रोशन ज्याकबका अनुसार बरामद गरिएको कफ सिरप औषधिका रूपमा नभई लागुऔषध (नशा) का रूपमा बेचिँदै थियो।
यही घटनाको सिलसिलामा नोभेम्बर ४ मा सोनभद्र र गाजियाबाद प्रहरीले संयुक्त कारबाही गर्दै एउटा गोदामबाट डेढ लाख सिसी कफ सिरप बरामद गर्यो। यस प्रकरणमा हालसम्म उत्तर प्रदेशमा १२८ एफआईआर दर्ता भइसकेको छ भने ३२ जनालाई पक्राउ गरिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार कोडिन दुखाइ कम गर्न प्रयोग गरिने एक प्रकारको ओपिओइड (अफिमजन्य) औषधि हो। यो हेरोइनजस्तै रासायनिक गुण भएको मादक पदार्थ हो, जसको लत लाग्न सक्छ।
शरीरमा प्रवेश गरेपछि कोडिन ‘मोर्फिन’ मा परिणत हुन्छ। रगतमा मोर्फिनको मात्रा बढेमा श्वासप्रश्वासमा कठिनाइ हुनेजस्ता गम्भीर असर देखिन सक्छ। युरोपियन मेडिसिन एजेन्सीका अनुसार १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यसको प्रयोग वर्जित छ।