• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो १११ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमिर लिग (एनपिएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ सुरुमै धर्मराउँदा १११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले सुरुवातदेखि नै लय बिगारेर १९ ओभरमा ११० रन बनाउँदै सबै विकेट गुमाएको हो ।

यो जारी सिजनकै सबैभन्दा कमजोर लक्ष्य हो । यसअघि लिग चरणको २७ औं खेलमा चितवन राइनोजले पोखराविरुद्ध १२० रनको लक्ष्य दिएको थियो ।

काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८-१८, वेन चार्ल्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए । शाहव आलम ४ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित विराटनगर किङ्ससँग खेल्नेछ । दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।