काठमाडौं । नेपाल प्रिमिर लिग (एनपिएल) सिजन २ अन्तर्गत बुधबार सम्पन्न एलिमिनेटर खेलमा लुम्बिनी लायन्ससँग हार बेहोर्दै काठमाडौं गोर्खाजले प्रतियोगिता टुंगाएको छ ।
काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । दीनेश अधिकारी ४, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३, निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ ० र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे ।
बलिङमा काठमाण्डुका सन्तोष यादवले दुई, सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एक-एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए ।
जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए ।
शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।
एलिमिनटरमा पराजयसँगै काठमाडौं यस सिजनको चौथो बनेको छ । एलिमिनेटर विजेता लुम्बिनीले भने फाइनल खेल्ने सम्भावनलाई कायमै राखेको छ ।
फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा लुम्बीनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सँग पराजित टोलि विराटनगर किङ्ससँग समाना गर्नेछ ।
पहिलो क्वालिफायर जितेर सुदूरपश्चिमले फाइनल स्थान सुरक्षित गरेको छ । दोस्रो क्वालिफायरका प्रतिस्पर्धी विराटनगर र लुम्बिनीमध्ये विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।