काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सुशीला कार्कीबीचको संवादलाई लिएर यस्तो आशंका व्यक्त गरेका हुन् ।
नेता बस्नेतले अध्यक्ष ओलीविरुद्ध घेराबन्दी गर्न देशी–विदेशी शक्ति सक्रिय रहेको भन्दै यसअघि ईश्वर पोखरेलले दिएको अभिव्यक्ति र पछिल्ला राजनीतिक भेटघाटलाई आपसमा जोडेर हेर्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो– तपाईंहरूले एउटा कुरा सोध्नै भुल्नुभयो, किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन ? म भए जान्थेँ, उहाँ पनि जानैपर्छ । यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ ।’
बस्नेतले अगाडि लेखेका छन्, ‘दुई दिनअगाडि नै पूर्वराष्ट्रपति विद्या भण्डारी र सुशीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।’ (केही दिनअघि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार पुगेर राजनीतिक भेटघाट गरेकी थिइन् ।)
बस्नेतले बुधबार ‘जेन–जी’ समूहको नाममा गरिएको सम्झौता र कमेडियन हिमेश पन्तलगायतका सेलिब्रेटीहरूले ओली पक्राउ पर्ने भन्दै फैलाएको हल्लालाई ‘मिडिया ट्रायल’ को संज्ञा दिएका छन् ।
‘केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन् । उनीहरूको उद्देश्य महाधिवेशन भाँड्ने, आतंक फैलाउने र सहभागिता घटाउने हो,’ बस्नेतले आरोप लगाउँदै लेखेका छन्, ‘अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने, महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने खेल हो । तर, उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ ।’
उनले अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल एमालेका अगाडि सफल नहुने चेतावनी समेत दिएका छन् ।