काठमाडौं । जेनजी समूह र सरकारबीच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो । जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए । विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए ।
जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्बाेधनपछि जेनजी युवायुवतीहरु एक आपसमा झगडा गरेका हुन् ।

प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन् । अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।
घुसपैठ भएको दाबी
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सम्झौता वार्तामा ‘घुसपैठ’ भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन् ।

गुरुङले सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको मुख्य समयमा नेपालमै नरहेको बताएका छन् । उनका अनुसार गत भदौ २३ मा जेनजी आन्दोलन चलिरहँदा सोडारी कोरियामा थिए । उनी आन्दोलन भएको करिब ४० दिनपछि अर्थात् १८ अक्टोबरमा मात्र नेपाल फर्किएको गुरुङको दाबी छ ।
सामाजिक सञ्जालमा लेख्दै गुरुङले भनेका छन् ‘जेनजी आन्दोलनमाथि घुसपैठ यसैलाई भनिन्छ। हिजो जेनजीको पक्षमा सम्झौता नभएको भन्दै सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनका बेला कोरियामा थिए ।’


